प्रस, निजगढ, २ वैशाख/
निजगढ नगरपालिकाका निवर्तमान प्रमुख सुरेशकुमार खनालकी पत्नी विनीता खनालको जन्मदिनको अवसरमा नयाँ वर्षका दिन गुम्बाका विद्यार्थीहरूलाई पाठ्य सामग्री र पोशाक प्रदान गरिएको छ ।
निजगढ नगरपालिका–१० लाल स्थित पाल्युल साम्तेलिङ गुम्बामा अध्ययनरत ३३ जना बौद्ध धर्ममार्गी विद्यार्थीहरूलाई किताब, कापी, कलम, पोशाकलगायतका पाठ्य सामग्री प्रदान गरिएको हो । हिजो शनिवार निवर्तमान नगरप्रमुुख खनालले चुरे पहाडमा अवस्थित यस गुुम्बालाई मधेस प्रदेशकै नमूना बौद्ध धर्म पाठशाला बनाउन आफू नगरप्रमुख रहेकै बेला एकजना शिक्षकको दरबन्दी खडा गर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएपछि दुःख लागेको बताए ।
हामी समाजको विकासका लागि सीमित अवधिसम्म सार्वजनिक पदमा रहन्छौं । जसकसैको कार्यकालमा पनि विकासका कार्यहरू अघि सारेपछि निरन्तरता दिनुपर्ने बताउँदै गुम्बा क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा समेत विकास र विस्तार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने उनले विश्वास व्यक्त गरे । तराई– मधेसका तामाङ समुदायका बालबालिकाहरू बौद्ध धर्मको ज्ञान, शिक्षा आर्जन गर्न भारतका गया, देहरादुनलगायतका विभिन्न स्थानमा जाने गरेकाले त्यस्ता ज्ञान, शिक्षा दिने, पढाउने पाठशालाको रूपमा यस गुम्बालाई विकास र विस्तार गर्न सके निजगढको मात्र नभई मधेस प्रदेशकै सान र गौरवका रूपमा यस गुम्बा स्थापित हुने उनले बताए ।
त्यसैगरी, गुम्बाका धर्मगुरु खेम्पो साङ्घे छिरिङले निजगढ नपाको लालबस्तीदेखि निकै उचाइ चुरे पहाडमा गुम्बा रहेकोले आकर्षक र रमणीय रहेको बताउँदै यहाँ पानीको निकै अभाव भएको बताए । सबैको साथ सहयोगबाट यस गुम्बाको विकास, विस्तार गर्न सकिने भएपनि ओझेलमा पर्दै आएको उनले गुनासो व्यक्त गरे ।
कार्यक्रममा सहभागी वडा नं १३ का अध्यक्ष सूर्य घलानले यस गुम्बाको विकासका लागि नगरपालिकालाई पहल गर्न आग्रह गर्ने बताए । कार्यक्रममा वडाध्यक्ष ज्ञानबहादुर गोले, पूर्ववडाध्यक्ष पदमबहादुर मोक्तान, स्थानीय समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता थियो । कार्यक्रमको सभाध्यक्ष गुम्बा विकास, सञ्चालन समितिका अध्यक्ष भीमबहादुुर भुलोनले गरेका थिए भने सञ्चालन कल्पना खरेलले गरेकी थिइन् ।