प्रस, वीरगंज, २ वैशाख/
१४औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ‘ए’ डिभिजनका दुर्ई टोली मच्छिन्द्र फूटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रङ्गशालामा सोमवार राति हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने तयारी गर्दैछन् ।
सिमरा रङ्गशालामा आइतवार बिहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र बाजे दुवैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए ।
सोमवार राति सिमरा रङ्गशालाको प्mलड लाइटमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यमा फाइनल खेल हुने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । फाइनल खेलमा करीब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । तीन वर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको सहभागिता उत्साहजनकरूपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए ।
पुलिस क्लब आठ वर्षपछि दोस्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ भने मच्छिन्द्र क्लब पहिलोपटक उपाधिनजीक पुगेको छ । यसअघि छैटौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो । मछिन्द्र क्लब भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मस्र्याङ्दी क्लबसँग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र क्लब १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो ।
१४औं जीतपुरसिमरा गोल्डकपको खेल तीन वर्षदेखि राति हुँदै आएको छ । यो अवधिमा दिउँसो हुने खेलभन्दा रातिको खेलमा दर्शकहरूको सङ्ख्या बढेको आयोजक कमिटीका सुनील गाउँलेले बताए । उनले रात्रिकालीन खेलमा पाँचदेखि सात हजारसम्म मानिसहरू सेमिफाइनलसम्म दैनिकरूपमा हेर्दै आएको र फाइनलमा १५ हजार पुग्ने अनुमान गरिएको बताए । दैनिक टिकट काटेर एकदेखि दुई हजार र वडास्तरबाट वितरित टिकटको आधारमा पाँचदेखि छ हजार मानिस आउने गरेको बताए । गाउँलेले जीतपुरसिमरा उपमनपा अन्तर्गतका २४ वटा वडामध्ये १७ वटा वडाले प्रतियोगिता सफलताको लागि २५ हजारदेखि सात लाखसम्म सहयोग गरेको र वडास्तरमा निश्शुल्क टिकट वितरण गरेर दर्शक सङ्ख्या बढाएको बताए । वडालाई नै सहयोग अनुसारको टिकट उपलब्ध गराइएको र सोही टिकटको आधारमा जीतपुरसिमरा उपमनपालगायतका स्थानबाट दर्शकहरू रात्रिकालीन पूmटबलको आनन्द लिन आउने गरेको उनले बताए । |
अघिल्लो साता विराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र क्लब मोफसलमा हुने प्रतियोगिताको चौथो उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदैछ । २०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरी चर्चित खेलाडीहरूलाई टीममा अनुबन्धन गरेको मच्छिन्द्रले विराटसहित मकवानपुरको बाग्मती गोल्डकप र काठमाडौंमा भएको केपी ओली कपको उपाधि जितेको थियो । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरू उपाधि जित्नेमा विश्वस्त रहेको बताए । उनले भने, हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरी टीम निर्माण गरिएको छ ।
पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले दोस्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । २०८० को सुरुआतमा वीरगंज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले २०८० मा पुलिसका युवा खेलाडी सम्मिलित टोलीले मोफसलका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जीतपुरसिमरा गोल्डकपको उपाधिसहित २०८१ को सुरुआतका लागि आफूहरू उत्साहित रहेको बताए ।
पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेंलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउनेछैनन् । शिशिरले एपीएफविरूद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टीमलाई फाइनलसम्म पु¥याउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, स्टार खेलाडी विमल घर्तीमगर, मनीष डाँगी सम्मिलित मच्छिन्द्रको टीममा भने कुनै परिवर्तन हुनेछैन । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टीममा थपिने सम्भावना रहे पनि निश्चित भने नभएको जानकारी दिए ।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टीमलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ । मच्छिन्द्रले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । पुलिसले भने क्वाटरफाइनल खेलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा विभागीय टीम एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो ।