प्रस, वीरगंज, २८ फागुन/
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले वीरगंज–रक्सौल मितेरीपुलमा केही महीना अघिदेखि राखेको पोस्ट सोमवारदेखि हटाएको छ ।
भारतीय सीमा सुरक्षा बलले केही महीना अघिदेखि मितेरीपुलमा अनधिकृतरूपमा पोस्ट सञ्चालन गरेको थियो ।
एसएसबीले मितेरीपुलको दुवैतर्फ पोस्ट सञ्चालन गरेर आवतजावत गर्ने पैदलयात्रीदेखि सवारीसाधनहरूको चेकजाँच गर्दा बेलाबेलामा तनाव पनि सिर्जना हुने गरेको थियो । दुवै देशका जनताले एसएसबीको हर्कत पचाएका थिएनन् । घरायसी सामानहरू ल्याउँदा र लैजाँदा पनि एसएसबीले अवरोध गर्ने गरेको थियो । यसै क्रममा एक साता अघि मितेरीपुलमा विवाद भएको थियो र सो क्रममा एसएसबीले लाठीचार्ज गर्दा तीनजना घाइते भएका थिए ।
घाइतेमध्ये एकजनाले इनर्वा चेकपोस्टमा लिखित उजूरी गरेको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए । उनले घटनाबारेमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयलाई आफूले ध्यानाकर्षण गराएको र गत शनिवार फागुन २६ गते दिल्लीबाट एसएसबीका डिआइजी सुब्रमन्यमको नेतृत्वमा कमान्डेन्ट विकास कुमार र एसएन मिश्रसहितको टोली मितेरीपुलको अवस्था अवलोकन गर्न आएका थिए । एसएसबीको टोलीले घाइतेसमेत स्थानीयहरूको कुरा सुनेको र नो म्यान्स ल्यान्डमा पर्ने मितेरीपुलबाट एसएसबीको पोस्ट हटाउन पहल गर्ने आश्वासन दिएर गएको खेतानले बताए ।
सोही अनुसार आज दिल्लीबाट मितेरीपुलमा रहेको एसएसबीको पोस्ट हटाउन निर्देशन आएबमोजिम पोस्ट हटेको उनले बताए । रक्सौलमा एसएसबीको पोस्ट स्टेट बैंक अफ इन्डिया कार्यालयको अगाडि मेनरोडमा थियो ।