प्रस, वीरगंज, २८ फागुन/
वडा प्रहरी कार्यालय, बिर्ताले सोमवार मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज बनाएको कसूरमा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल कम्पनीले बनाएको साइलेन्सर यातायात कार्यालयको स्वीकृति बेगर परिवर्तन गरेर चर्काे ध्वनि हुनेगरी सवारी सञ्चालन गरेको पाइएकाले दुईजनालाई मोटरसाइकलसहित पक्राउ गरिएको वप्रका, बिर्ताका प्रहरी निरीक्षक पुष्कर खतिवडाले बताए ।
उनले आज वीरगंज महानगर–२ छपकैया इदगाहचोकबाट जीतपुरसिमरा उपमहानगर–७ बस्ने २१ वर्षीय आशिष सोनी र कलैया उपमहानगरपालिका–२३ बस्ने २४ वर्षीय अफरोज आलमलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताए ।
उनीहरूले चलाएको चर्काे ध्वनिको मोटरसाइकलले सर्वसाधारणलाई समस्या परेको उजूरीका आधारमा नियन्त्रणमा लिएको र आवश्यक कारबाईका लागि यातायात व्यवस्था कार्यालय चलान गरिएको बताए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, बाराले सोमवार चर्काे ध्वनिमा डिजे बजाउने तीनजनालाई पक्राउ गरेको छ ।
नेपाल सुनील ब्यान्ड कलैयाका सञ्चालक जीतपुरसिमरा उपमहानगरपालिका–१२ बस्ने मोहित चौधरी, वडा नं २० बस्ने चालक मुन्ना साह र कलैया उपमहानगर–९ रामपुर बस्ने मनवर मियाँलाई चर्काे स्वरमा डिजे बजाएको कसूरमा साउन्ड सिस्टम र सवारीसाधनसहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।