प्रमोद यादव, पंचगावाँ, १७ माघ/
पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनबाट बाघ निस्केर ग्रामीण बस्तीमा आतङ्क मच्याएको छ ।

विगत केही सातादेखि बाघले यस क्षेत्रमा आतङ्क मच्याएको छ र यस क्रममा पटेर्वासुगौली–२ मा बाघको आक्रमणबाट ज्यानसमेत गएको छ । हिजो मात्र पटेर्वासुगौली–१ र २ मा बाघको आक्रमणबाट केही पशुचौपाया मरे भने केही घाइते भएका छन् ।

पर्सागढी नगरपालिका–७ र ९ एकटाँगामा बाघको आक्रमणबाट सातवटा बाख्राबाख्री मरेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले जनाएको छ । अहिले पटेर्वासुगौली, सखुवाप्रसौनी गापा र पर्सागढी नपाका बासिन्दाहरू बाघबाट आतङ्कित छन् । यो क्षेत्रमा बाघसँगै हात्तीको आङ्कक पनि बढेको छ । पटेर्वासुगौली गापा– १, २ र ४ मा हात्तीले घरगोठ भत्काउने, खाद्यान्न नष्ट गर्ने, बाली क्षति पु-याउने जस्ता कार्यहरू गरिरहेका छन् ।

स्थानीयले निकुञ्ज र वनबाट जङ्गली जनावरहरू आएर मानवीय, पशुचौपाया, भौतिक संरचना र खाद्यान्न, बालीहरू नष्ट गरिरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्थानीयका अनुसार अहिले जङ्गली जनावरको निरन्तर आक्रमणका घटनाले जनता, थरुहट सडकखण्डमा मानिसहरूको आवतजावत पातलिएको छ । राति यो सडकखण्डबाट मानिसहरूले आवतजावत बन्द गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिम्मेवार निकाय निकुञ्ज, वन डिभिजन र सुरक्षा निकायलाई जङ्गली जनावरहरू नियन्त्रण गर्न पत्राचार गरेको बताए । उनले जिम्मेवार निकायलाई पत्राचार गरी यथाशीघ्र मानिसहरूको जीउज्यानको रक्षा गर्दै जङ्गली जनावरबाट हुँदै आएका क्षति नियन्त्रण गर्न परिपत्र गरेको बताए । उनले निर्देशन पालना नभए कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here