प्रस, वीरगंज, २३ मङ्सिर/
वल्र्ड फेडरेशन अफ न्यूरोसर्जिकल सोसाइटी (डब्लुएफएनएस)को सदस्यमा पहिलोपटक नेपाली चिकित्सक निर्वाचित भएका छन् ।
पर्सा, विन्ध्यवासिनी गाउँपालिका बहुअर्वाभाठा स्थायी घर भई हाल वीरगंजमा बसोबास गरी जय पोलिक्लिनिक एवं विभिन्न अस्पतालमा सेवा दिने न्यूरो सर्जन डा विपिन चौरसिया उक्त सोसाइटीको सदस्यमा ७४ मत ल्याएर निर्वाचित भएका हुन् । यसअघि नेपाल र भारतबाट हालसम्म यो सोसाइटीमा कोही चिकित्सक निर्वाचित भएका थिएनन् ।
सोसाइटी विश्वभरका न्यूरो सर्जन चिकित्सकहरूको छाता सङ्गठन हो । यस सोसाइटीको डिसेम्बर ४ देखि ८ सम्म दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न १८औं महासभाबाट डा चौरसिया सोसाइटीको पब्लिकेशन तथा वेब उपसमितिको सदस्यमा निर्वाचित भएका हुन् । समितिमा अमेरिकाका चिकित्सक पिटर नाकाजीसमेत निर्वाचित भएका छन् ।
तीन वर्षे कार्यकाल रहेको यस पदमा रहेका डा चौरसियाले डब्लुएफएनएसको प्रकाशन र वेबका कामहरूमा सहयोग गर्नेछन् । पूर्ण छात्रवृत्तिमा पाकिस्तानबाट एमबिबिएस र बङ्गलादेशबाट न्यूरो सर्जरीमा एमएस अध्ययन गरेका डा चौरसियाले हालसम्म २२३ वटा न्यूरो सर्जरीसम्बन्धी रिचर्स जर्नल प्रकाशित गरिसकेका छन् । उनी कुशल न्यूरो सर्जनको रूपमा चिनिन्छन् ।