प्रस, वीरगंज, २३ मङ्सिर/
वीरगंजमा ‘आयो’ राइड्स सेवा सञ्चालनमा ल्याइएको छ । आयो राइड्स नेपाल प्रालिले वीरगंजमा दुई महीनादेखि सेवा सुचारु रहेको जानकारी गराएको छ । वीरगंज–११ रानीघाट बस्ने मेकानिकल इन्जिनीयर श्यामप्रसाद कुशवाहाले वीरगंजमा यो सेवा शुभारम्भ गरेका हुन् । उनले वीरगंजका गल्लीमा यात्रा सेवालाई सहज बनाउन र रोजगार सिर्जना गर्न यो सेवा शुरू गरेको बताए । सेवा प्रभावकारी र उत्साहजनक बन्दै गएको कम्पनीका संस्थापक एवं सिइओ कुशवाहाले बताए । तीनजना बाइक चालकबाट शुरू भएको यो सेवामा अहिले वीरगंज आसपासका २८ जना चालकलाई रोजगार दिएको उनले बताए । छठ पर्वअगावै शुरू भएको सेवाको प्रारम्भिक चरणमा प्रतिराइड मात्र रु १० रुपैयाँ शुल्क लाग्थ्यो भने छठपछि प्रतिराइड रु १५ शुल्क थियो भने मङ्सिर १९ गतेदेखि कम्पनीले रु आठ प्रतिकिलोमिटरको दरमा सेवाप्रवाह गरिरहेको जनाएको छ । हाल प्रतिदिन तीन सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको कुशवाहाले बताए । कम्पनीले हाल चालकलाई मासिक २५ हजार ३९० रुपैयाँ दिइरहेको छ । बिहान साढे ७ बजेदेखि राति साढे ९ बजेसम्म सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले मोटरसाइकल, चालक अनुमतिपत्र, नागरिकता र मोबाइलमा इन्टरनेट चलाउन जान्ने मोटरसाइकल चालक युवकलाई प्राविधिक तालीमपछि रोजगार दिइरहेको जनाएको छ । कम्पनीले आयोमा यात्रा गर्ने चालक र यात्रुको लागि तीन लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरेको छ । कम्पनीले आफ्नो एपबाट सामानको डिलेभरी सेवालाई पनि निरन्तरता दिइरहेको छ । कम्पनीले यात्राका साथै सामान पनि एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहयोग गरिरहेको प्राविधिक प्रमुख कुशवाहाको भनाइ छ । हाल दैनिक ८–९ सय राइडको बूकिङ अर्डर आइरहेको तर चालकको सङ्ख्या न्यून भएकोले दैनिक तीन सयसम्म राइडको सेवा दिने गरेको उनले बताए । मोटरसाइकलसँगै कार राइडको सुविधा एपमा रहे तापनि हाल मोटरसाइकल राइडको लागि बढी माग रहेको उनले बताए । वीरगंजबाट बाराको कलैया, बरियारपुरस्थित गढीमाई मन्दिर, सिमरा विमानस्थल, पर्साको पोखरिया र वीरगंज नगर क्षेत्रभित्र यातायातको लागि स्टार्टअप व्यवसाय शुभारम्भ गरिएको छ । पछि अन्य ठाउँमा समेत सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । यात्रा अवधिको सबै जिम्मेवारी कम्पनीले लिने प्रत्याभूति गराएको उनले बताए । अहिले दैनिक हुने तीन सय राइडमा ७० प्रतिशत महिला यात्रु हुने गरेको बताइएको छ । कम्पनीले अक्टोबरमा सय रुपैयाँ मात्र आम्दानी गरेको, नोभेम्बरमा भने तीन लाख ३३ हजार र अहिले डिसेम्बर महीनाको ९ तारिखसम्म २० हजार आम्दानी गरेको बताइएको छ ।

को हुन् मेकानिकल इन्जिनियर कुशवाहा

आयो राइड शेयरिङ सेवा वीरगंजमा शुभारम्भ गर्ने २७ वर्षीय युवक वीरगंज–११ रानीघाटका स्थायी बासिन्दा हुन् । बुबा फुलेनाप्रसाद कुशवाहा र आमा मालती कुशवाहाका जेठा सन्तान कुशवाहाले एसएलसी वीरगंजको ज्ञानदा एकेडेमीबाट उत्तीर्ण गरेका थिए भने प्लस टु डिएभी स्कूलबाट गरेर मेकानिकल इन्जिनीयरिङ र सफ्टवेयर डेभलेपमेन्टको कोर्स युडेमिकको अध्ययन कुरुक्षेत्र विश्वविद्यालय दिल्लीबाट गरेका थिए । उनी अध्ययनपश्चात् सन २०१९ मा वीरगंज फर्किए । त्यसपछि उनले मेट्रोमोनियल साइट ‘हाम्रोविवाहडटकम’ शुभारम्भ गरे । त्यसपछि वीरगंजमा राइड शेयरिङ सेवा सुचारु गर्न आयोको अवधारणामा अनुसन्धान गरी आयो एप विकसित गर्दै यो कम्पनी सञ्चालनमा ल्याइ स्टार्टअप व्यवसायमा सक्रिय भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here