काठमाडौं, २ मङ्सिर/रासस
चार देश सम्मिलित महिला टी–२० शृङ्खला अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।

हड्ढङमा भएको खेलमा नेपालले जापानलाई जीतका लागि ११४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो । नेपालका लागि रूविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मदतमा ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मदतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक/एक विकेट लिए ।

११४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मदतमा १७ रन बनाइन् । यस्तै, सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । बलिङतर्फ नेपालकी सङ्गीता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई/दुई विकेट लिए ।

नेपाल र जापान जारी शृङ्खलाको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधवार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै, बिहीवार भएको दोस्रो खेलमा नेपाल हड्ढङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हड्ढङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

महिला टी–२० शृङ्खलामा आयोजक हड्ढङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औं, हड्ढङ २२औं तथा जापान ५१औं स्थानमा छन् । तान्जानिया र हड्ढङले उपाधि जित्नका लागि खेल्नेछन् । नेपालले अब तेस्रो स्थानका लागि आइतवार जापानसित नै खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here