प्रस, सेढवा, ६ भदौ/
पर्साका ग्रामीण भेगमा लगाइएका धानबालीमा विभिन्न किसिमका रोग लाग्दा किसानहरू चिन्तित बनेका छन् । जिल्लाका ठोरी, जीराभवानी जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनीलगायतका गाउँपालिकामा लगाइएका धानबालीमा रोग लागेको हो । धानबाली अन्तर्गत सोना मन्सुली, भदई मन्सुली, मनी मन्सुली तथा १४४२ जातका धानबालीमा रोग लागेका हुन् ।
जीराभवानी गाउँपालिका–१ सेढवाका किसान रामरित चौधरीका अनुसार बालीमा रोग लागेर जरा कुहिंदै गएको बताए । जरा कुहिएर बिरुवाको पात पहेंलो भई सुकिरहेको चौधरीले गुनासो गरे । यस रोगलाई गाउँघरमा सरलदवा रोग भनिने चौधरीको भनाइ छ । गत वर्षसम्म यो रोग सोना मन्सुली जातको धानबालीमा मात्र लाग्ने गरेको तर यसपालि अन्य जातका धानबालीमा पनि लागेको चौधरीले बताए । रोकथामका लागि दुईपटकसम्म कीटनाशक औषधि छरे पनि प्रकोप कम नभएको चौधरीले गुनासो गरे । यसका साथै सारो तथा १४४२ जातका धानबालीमा पनि रोग लागेर धानको टुपो सुक्न थालेको किसानहरूले बताए । बिरुवा हरियो भएपनि बाला निस्किने भाग नै सुकेपछि बाली नै नष्ट हुने समस्याले सताएको किसानहरू बताउँछन् । पटेर्वासुगौली गापा–२ बेलवा निवासी किसान शनिराउत थारूले सो क्षेत्रमा लगाइएको धानबालीमा सरलदवा रोग लाग्न शुरू भएको बताए । किसानहरूले सो रोग नियन्त्रण गर्न कीटनाशक औषधि छर्न शुरू गरेको थारूले बताए ।
त्यस्तै, ठोरी गापा–५ प्रधानटोलका किसान हरिप्रसाद चौलागाईंका अनुसार विगतमा नदेखिएको यो रोगले यसपालि धानबाली प्रभावित भएको बताए । यस क्षेत्रमा १४४२ र सारो धान मात्र लगाइएको उनले बताए । बाली हेर्न विशेषज्ञ वा जेटिए नआएकाले कुनै पनि कीटनाशक नछरेको उनले प्रतिक्रिया दिए । पालिकामा यसबारे जानकारी गराउँदा पनि जेटिए नआएपछि त्यत्तिकै छोडेको चौलागाईंले बताए ।
यस सम्बन्धमा जीराभवानी गाउँपालिकाको कृषि शाखा प्रमुख क्षत्रबहादुर गुप्ताले सो रोग विरुद्धको औषधि दुई पटकसम्म छर्दा प्रकोप हट्ने बताए । यसका साथै धानको रोपाइँ धेरै नजीकनजीक गर्न नहुने, झारपात हटाउनेुपर्ने, बालीमा निरन्तर पानी नराख्ने र समयसमयमा जमीन सुक्खा राख्नुपर्ने गुप्ताले बताए । यसका साथै नेपाल सरकारले सिफारिश गरेका बीउबिजन मात्र रोपाइँ गर्दा यो रोग नलाग्ने किसानहरूलाई कृषि शाखा प्रमुख गुप्ताले आग्रह गरे ।