नितेश कर्ण, वीरगंज, ५ भदौ/
जिल्ला प्रशासन कार्यालय, सर्लाहीले सोमवारदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेको छ ।
परिचयपत्र लिने पहिलो सेवाग्राही लालबन्दी नगरपालिका–६, निवासी शङ्कर श्रेष्ठ, दोस्रो सेवाग्राही ब्रह्मपुरी गाउँँपालिका–४ निवासी सुनीलकुमार साह र तेस्रो कौडेना गाउँँपालिका–१ निवासी रामकिशोर महतोलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए ।
वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिकरूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्न जिल्लामा व्यक्तिगत विवरण सङ्कलन गर्ने कार्य हुँदै आएको छ । जिप्रका, सर्लाहीमा अहिले २८ हजारजनाको राष्ट्रिय परिचयपत्र छापिएर आएको प्रजिअ यादवले बताए ।