प्रस, रौतहट, १ असार/
माधवनारायण नगरपालिकाको मिठुअवाटोलमा लगाइएको लिची बगानमा सुधार आएपछि किसानहरू हर्षित भएका छन्।
झापा, बिर्तामोड–७ निवासी गोपेन्द्र भुजेलले लिची बगानलाई सुधार गर्न अथक प्रयास गरेका कारण लिचीमा लागेको कीरा हटेको छ। भुजेलले लिची बगानमा टोन, त्रिकाल र सञ्जिवनी नामक औषधि १० दिनमा एकपटक छर्कंदै आएको र पहिलो प्रयासमा नै लिची खानयोग्य भएको बताए।
कृषिसम्बन्धी अध्ययन नगरे पनि मामाससुराले लगाएको लिची बगान स्याहार्ने क्रममा लिचीको कीरा हटाउने जानकारी रहेको उनले बताए।
मिठुअवाटोलमा लगाइएको ७० बिघा जग्गामा लगाइएको लिचीमध्ये १० बिघा क्ष्Fेत्रको लिची बगानमा सुधार आएको उनले बताए।
उनले आफूलाई बगानधनीले लिचीमा कीरा लागेको जानकारी गराएपछि आफू आएको बताए। विगत पाँच वर्षदेखि लिचीमा कीरा लागेका कारण लिची बगान लगाएका किसानहरू दुःखी थिए। स्थानीय तहका प्राविधिक तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसमेतबाट उपचार गराउँदा लिचीमा लागेको कीरा नहटेपछि भुजेललाई बोलाएको किसान उपेन्द्र साहले बताए। रौतहटको मिठुअवामा व्यावसायिकरूपमा लिचीको खेती हुने गर्छ। लिचीको एउटा रूखबाट वार्षिक १५ हजार रुपैयाँ आम्दानी हुने गरेको र मिठुअवाको लिची काठमाडौं, पोखरालगायतका व्यापारीले किन्ने गरेको यादवले बताए।