धर्मेन्द्र चौरसिया, पोखरिया, १५ जेठ/

धोबिनी गाउँपालिकामा गत वर्ष निर्माण हुनुपर्ने १५ शय्याको अस्पताल अहिलेसम्म अधूरो छ। सङ्घीय सरकारको सहयोगमा रु १० करोडको लागतमा १५ शय्याको अस्पताल निर्माणको जिम्मा बुद्ध/ड्रेगन/बस्नेत जेभी कन्स्ट्रक्शनले लिएको छ।

२०७८/२/१७ मा अस्पताल निर्माणको सम्झौता भई २०७९ भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म अस्पताल निर्माणको काम टाइबिमसम्म मात्रै भएको छ। बुद्ध/ड्रेगन/बस्नेत जेभी कन्स्ट्रक्शनले सम्झौता गरेको यो कामको स्थानीय प्रतिनिधि पप्पु कन्स्ट्रक्शनका सञ्चालक सुमीत रौनियार हुन्। उनी आफैं उभिएर लिन्टरसम्मको निर्माण कार्य गराएका थिए।

अहिले उनी यो कामबाट पञ्छिन खोज्दैछन्। “ठेक्का सम्झौता मेरो नाममा छैन, मलाई हेर्न भनिएको थियो तर रकम भुक्तानीको आशा कम भएको कारण मैले कामबाट हात झिकेको हो,” उनले भने। उनले अस्पताल निर्माणको प्रमाणित डिपिआरसमेत नभएको र सोको अभावले भुक्तानी समस्या हुने भएकोले आफू पछि हटेको बताए।

अस्पताल निर्माणको काम चार महीनादेखि ठप्प छ। आठ महीनाअगाडि सम्पन्न हुनुपर्ने अस्पतालको काम अहिलेसम्म हुन नसकेकोमा गापा कार्यालयले सम्झौता गरेको ठेकेदार कम्पनी बुद्ध/ड्रेगन/बस्नेत जेभी कन्स्ट्रक्शनलाई २० दिनअघि पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत नवाज हुुसेनले बताए। उनले चिठी काटेपछि ठेकेदारले चिठी नबुझेको र मौखिकरूपमा चिठी नपठाउन भनी काम शुरू गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म काम शुरू नगरेको बताए। उनले ठेकेदार कम्पनीको धरौटी रकम जफत गर्ने बताएका छन्।

यो कामको लागि ठेकेदारले रु एक करोड ९० लाख धरौटी राखेको छ भने अहिलेसम्मको कामबापत एक करोड ८० लाख भुक्तानी लिइसकेको छ। गापा अध्यक्ष मदन चौहानले काम अधूरो भएको र ठेकेदारले काम शुरू नगरेमा गापाका जनप्रतिनिधिहरूसँग सल्लाह गरी कारबाई प्रक्रिया अगाडि बढाउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here