प्रस, परवानीपुर, १७ भदौ/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरूलाई विश्वव्यापीरूपमा उजागर गर्ने राष्ट्रहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायहरूबीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन्।

वन तथा वातावरण मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ अन्तर्गत आयोजित ‘मिट द एम्बेसडर्स’ कार्यक्रममा मन्त्री यादवले दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायहरूबीच बलियो साझेदारी आवश्यक रहेको बताए।

उनले हिन्दकुश हिमाली क्षेत्रमा थप औपचारिक र प्रभावकारी ढङ्गले काम गर्दै विकास गर्नका लागि एउटा मन्त्रीस्तरीय सामूहिक सङ्गठनको आवश्यकता रहेको बताए। उनले भने, “हामी विश्वभरका पहाडी क्षेत्रहरूको समृद्धिको लागि विश्वस्तरका देशहरूसँग सहकार्य र साझेदारी बढाउन इच्छुक छौं।”

दिगो पर्वतीय अन्तर्राष्ट्रिय वर्ष, २०२२ मनाउने नेपालको पहलको ढाँचाभित्र यस ‘मिट द एम्बेसडर्स’ कार्यक्रममा सहभागी अतिथिहरूलाई आफूले स्वागत गर्न पाएको भन्दै मन्त्री यादवले खुशीसमेत व्यक्त गरे। नेपाल सरकारले आफ्ना हिमालका समस्या र सम्भावनाहरू नागरिक र अन्तर्राष्ट्रिय समुदायमा बाँडफाँड गर्न सक्ने गरी विभिन्न कार्यक्रम र गतिविधिहरूसहितको दिगो पर्वतीय विकास अन्तर्राष्ट्रिय वर्ष मनाउने निर्णय भए अनुसार आफूहरू काममा लागिपरेको समेत उनले जानकारी गराए।

नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरूलाई विश्वव्यापीरूपमा उजागर गर्ने राष्ट्रहरू, क्षेत्रीय संस्थाहरू र अन्तर्राष्ट्रिय समुदायहरूबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी खोज्ने यो ठूलो अवसर भएको मन्त्री यादवको भनाइ थियो। हामीले वर्षभरिका लागि बनाएको योजनामध्येको आज आयोजना गरिएको कार्यक्रम एउटा कोसेढुङ्गाको रूपमा आफूले लिएको मन्त्री यादवले जिकिर गरे।

यसैगरी, मन्त्री यादवले नेपालमा हिमाल र पहाडले करीब–करीब ८० प्रतिशतभन्दा बढी भूभाग ओगटेको तथा ती क्षेत्रमा पर्ने जङ्गल, सिमसार, खेतबारी, चट्टान अनि हिउँको परिदृश्यले नेपाली पहाडहरू निकै मनोरम देखिनुका साथै ठूलो सङ्ख्यामा वनस्पति र जनावरहरूका प्रजातिका साथै मानव जीविकालाई सहज भएको बताए। आज गरिएका छलफल र वर्षाैंदेखि छलफल गर्दै आएका हिमालका मुद्दाले उकालो परिदृश्य मात्र नभई सिङ्गो देशलाई नै राम्रो सङ्केत गर्ने उनको भनाइ थियो। हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रभाव, विशेषगरी उच्च पहाडी क्षेत्रहरूमा संसारका अन्य भागहरूभन्दा बढी गम्भीर समस्या रहेको र तापक्रम वृद्धिप्रति हिमाली क्षेत्रहरू बढी संवेदनशील रहेको मन्त्री यादवको भनाइ थियो। हिमालमा जलवायु परिवर्तनको प्रभावले तराईमा पनि प्रभाव पार्ने तथा विशेषगरी पहाड र तराईको बीचमा पानीजस्ता पारिस्थितिक प्रणालीलाई हिमालमा पर्ने जलवायु परिवर्तनले नकारात्मक प्रभाव पार्नेप्रति मन्त्री यादवले चिन्ता व्यक्त गरे।

पहाडी क्षेत्रहरू विशेषगरी विकासोन्मुख देशहरूले बढ्दो गरीबी, खाद्य असुरक्षा, वातावरणीय –हास, प्रकोपको जोखिम र आधारभूत सेवामा सीमित पहुँच जस्ता धेरै कठिनाइ भोगिरहेका कारण समस्या भइरहेको उनको भनाइ थियो।

पहाडी देशहरूले पहाडका कठिनाइहरू समाधानका लागि सामूहिक प्रयासमा सबै मिलेर काम गर्न जरुरी रहेको पनि उनले बताए। अन्तर्राष्ट्रिय पर्वतीय वर्ष २०२२ को अर्काे प्रमुख कार्यक्रम सेप्टेम्बर २० र ३२ मा ‘मुस्ताङ माउन्टेन समिट’को रूपमा मनाइने भएको छ। मुस्ताङ, एउटा सुन्दर ट्रान्स हिमालयन जिल्ला भएकोले उक्त शिखर सम्मेलनमा नेपालले आफ्नो पर्वतीय घोषणापत्र जारी गर्ने योजना बनाएको छ।

वन तथा वातावरण सचिव डा प्रेमनारायण कँडेलको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायत, ब्रजील, इजिप्ट, जापान, श्रीलङ्का, जापान, बङ्गलादेशलगायतका राजदूत तथा उच्च पदस्थ कर्मचारीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here