प्रस, परवानीपुर, ६ फागुन/

पर्सा र बारा जिल्लास्थित वीरगंज–पथलैया औद्योगिक कोरिडोर कपडा उद्योगको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएको व्यवसायीहरूले बताएका छन् ।

दुई/तीन वटा कुरा मात्र स्थानीय, प्रदेश र सङ्घ सरकारले सुनिश्चितता गरिदिए केही वर्षमैं कपडा उद्योगको मुख्य हबको रूपमा यो कोरिडोर विकसित हुने वीरगंजका कपडा उद्योगीहरूले बताएका छन् ।

बारा, परवानीपुरमा सञ्चालित नोवेल टेक्सटाइलका सञ्चालक विनय शाहका अनुसार सस्तो जमीन र सस्तो ब्याजमा ऋण उपलब्ध गराउन सरकारी पक्ष र स्थानीय स्तरबाट पहल हुनुपर्ने सुझाव दिए ।

अहिले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा मुख्य राजमार्गको दायाँ–बायाँका जग्गाको मूल्य प्रतिकट्ठा रु ७० लाख छ । यस्तो अवस्थामा कुनै पनि उद्योगीले १५–२० करोड रुपैयाँ खर्च गरेर उद्योग लगाउनुभन्दा वीरगंज–पोखरिया सडकखण्ड, जीतपुर–मनवा सडकखण्ड, जगरनाथपुर–मिलनचोक सडकखण्ड, वीरगंज–कलैया सडकखण्डलगायतका क्षेत्रमा लगानी गर्दा उपयुक्त
हुन्छ ।

सरकारले सस्तो अर्थात् प्रतिकट्ठा ६ देखि ८ लाख रुपैयाँसम्म जग्गा पाउने ग्यारेन्टी गर्नुपर्ने कपडा उद्योगीहरूले बताए । उद्योग चलाउन वीरगंज–पथलैया खण्डलाई औद्योगिक कोरिडोर घोषणा गरेर विद्युत्, यातायात, पानीको निकासलगायत सुविधा भएको क्षेत्र निर्धारण गरे कपडा तथा गार्मेन्ट उद्योगमा दर्जनौं देशी–विदेशी उद्योगहरू भित्रिने उद्योगी शाहले प्रक्षेपण गरे ।

सोही उद्योगका अर्का सञ्चालक रमेश गाडियाका अनुसार कपडा उद्योगले कृषि, रोजगार र बजारसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले कपडा उद्योग एउटा उद्योग मात्र नभएर विभिन्न उद्योगहरूको चेनक्रमको उद्योग भएको बताए । जस्तैः कपडा उद्योग चम्क्यो भने कपास खेती, धागो व्यवसाय, कपडा रङ्ने, बुन्ने तथा बजारीकरणलगायतका व्यवसायमा सकारात्मक असर पर्ने भएकोले रुग्ण उद्योगको श्रेणीमा रहेको नेपालका कपडा उद्योगहरू सरकारकै हेपाहा प्रवृत्तिका कारण मारमा परेको बताए ।

सरकारले कपडा उद्योगलाई दिंदै आएको बिजुली खर्चमा पचास प्रतिशत छुट पनि गत आव २०७७/७८ देखि खोसेको चर्चा गर्दै पाँच करोड रुपैयाँसम्मको ऋणको ब्याजमा पाँच प्रतिशत छुट, आयकरमा पचास प्रतिशतसम्म छुट र मेशिन खरीदमा एक प्रतिशत छुटको सुविधा दिने गरेको छ । कपडा उद्योगको लागि आयात गरिने कच्चा पदार्थको हकमा पाँच प्रतिशत भन्सार महसूल सरकारले तोकेको छ ।

पछिल्लो समय नोवेल टेक्सटाइल, वीरगंजका अन्य उद्योगहरूमा कोहिनूर, एभरेस्ट, सुजुकी, शङ्कर, पाना, ब्रोदर, सन्तरालगायतका उद्योगहरूले एक्रेलिक, टेरिकटन, होजियारी (कटन–पोलिस्टर)लगायत गुणस्तरीय कपडा उत्पादन थालेसँगै बजारको मागलाई सम्बोधन गर्न पनि यस क्षेत्रका उद्योगहरू सफल भएको बताए ।

कपडा उद्योग सङ्घका सदस्य जीतेन्द्र लोहियाका अनुसार नेपालमा वीरगंज, विराटनगर, भैरहवा, काठमाडौं, चितवनलगायत ठाउँमा करीब पचासवटा ठूला कपडा उद्योगहरू छन् भने सयौं साना–मझौला उद्योगहरू सञ्चालनमा रहेको जानकारी दिए । त्यसैगरी, कपडा उद्योगमा करीब दश अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उनले बताए ।

कोरोना महामारीले गत दुई वर्ष भारतीय सीमा सिल हुँदा भारतबाट तस्करीका कपडा नआउँदा स्वदेशी उद्योगीहरूलाई फाइदा पुगेको थियो । अहिले नेपालका लगभग सबै कपडा उद्योग आधुनिक प्रविधि अँगाल्दै गुणस्तरीय कपडा उत्पादनमा केन्द्रित भएका छन् । प्रहरी प्रशासनले तस्करीका कपडामा अङ्कुश लगाउने प्रयास ग¥यो भने कपडा उद्योगहरू अझ राम्रो हुने अनुमान छ ।

नेपालमा बर्सेनि ६७ अर्ब ५० करोड रुपैयाँको लत्ताकपडा खपत हुने गरेको आकलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here