प्रस, गरुडा, २७ माघ/

सर्लाही गोडैता नगरपालिका–४ रोहुवाका राजेश ठाकुरले छ बिघा उखु रोपेर सिध्याएका छन्। गत वर्ष ठाकुरले तीन बिघामा मात्र उखुखेती गरेका थिए। सर्लाहीको उखु किन्न विभिन्न जिल्लाका चिनी उद्योगहरूले उखु खरीद केन्द्र

(काँटा) सञ्चालन गरेपछि उखु किन्ने उद्योगीबीच प्रतिस्पर्धा बढेपछि उखुको मूल्य समयमैं पाउन थालेको देखेर ठाकुरले गत वर्षभन्दा तीन बिघा बढी खेतमा उखुखेती थपेका हुन्।

रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका कामेश्वर सहनीले पनि गत वर्षभन्दा दोब्बर बढी खेतमा उखुखेती गर्दैछन्। विगत वर्षमा चिनी उद्योगले उखुको मूल्य भुक्तानी गर्न आनाकानी गर्दै गएपछि पहिलेको तुलनामा पच्चीस प्रतिशतभन्दा कम खेतमा उखुखेती गरेका सहनीले चालू आर्थिक वर्षमा उखुको रकम तत्काल नै पाउन थालेपछि गत वर्षको तुलनामा उखुखेती दोब्बर गरेका हुन्। गत वर्ष साढे तीन बिघामा उखुखेती गरेका सहनीले यस वर्ष करीब सात बिघामा उखुखेती थप्दैछन्।

सर्लाहीका ठाकुर र रौतहटका सहनी उदाहरण मात्रै हुन्। जिल्लाका अधिकांश किसानले गत वर्षको भन्दा केही बढी खेतमा उखु लगाइरहेका छन्। नगदे बालीको मान्यता पाएको उखुको मूल्य विगतका वर्षहरूमा उद्योगीहरूले समयमा नदिएका कारण खेतीबाट पलायन हँुदै किसानहरूले उधारो खेती भनी हेला गर्न थालेपछि उखुखेती कम भएर चिनी उद्योगहरू नै सुक्ने अवस्थामा पुगेका छन्।

प्रतिस्पर्धाले गर्दा करीब आधा दशकभन्दा लामो समयपछि उखु किसानको हातमा उखुको पैसा तत्कालै पर्न थालेको छ। तराई–मधेसमा सबैभन्दा बढी उखुखेती सर्लाहीमा हुन्छ। उखुखेतीको बैंक नै मानिएका सर्लाही जिल्लामा चारवटा उखु उद्योग छन्। करीब तीन दर्जन बढी खाँडसारी उद्योग सञ्चालित छन्। सर्लाहीमा सिद्धिविनायक सुगर मिल, इन्दुशङ्कर, अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले मात्रै उखु किनेका छैनन्। रौतहटको बाबा बैजुनाथ र एभरेस्ट सुगर मिल महोत्तरीले समेत काँटा सञ्चालन गरेर उखु किन्न प्रतिस्पर्धा गरेपछि कम हँुदै गएको उखुखेतीतर्फ किसानहरू पुनः आकर्षित भएका छन्।

सर्लाहीमा गत वर्ष २१ हजार बिघामा उखुखेती भएको थियो तर यो वर्ष उखुको मूल्य सरकारले समयमा नै तय गरेर किसानको खातामैं पैसा पठाउन थालेपछि गत वर्षको तुलनामा यो वर्ष थप नौ हजार बिघामा उखुखेती भएर तीस हजार बिघा पुग्ने अनुमान रहेको इन्दुशङ्कर चिनीमिलका प्रमुख उखु प्रबन्धक योगनारायण रजक बताउँछन्।

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल बन्द भएपछि बाबा बैजुनाथ सुगर मिलले किसानसित खरीद गरेको उखुको भुक्तानी बैंकमार्फत खातामैं पठाउन थालेपछि किसानहरू रौतहटमा पनि उखुखेती धमाधम रोपाइँ गरिरहेका छन्। किसानले समयमैं उखुको भुक्तानी पाउन थालेकाले चालू आर्थिक वर्षमा कम्तीमा पचास प्रतिशतले उखुखेती बढ्ने उखु उत्पादक सङ्घ, रौतहटका सचिव सफिन्द्रप्रसाद यादव बताउँछन्।

अहिले किसानले उखु धमाधम रोपिरहेकाले आगामी वर्ष कम्तीमा १५ लाख क्वीन्टल उखु जिल्लामा उत्पादन हुने सचिव यादवको अनुमान छ। चालू आर्थिक वर्षमा जिल्लामा छ लाख क्वीन्टल उखु मात्रै उत्पादन भएको सचिव यादव बताउँछन्।

अहिले जिल्लामा करीब दुर्ई हजार बिघामा मात्र उखुखेती रहेकोले अगामी सिजनको लागि करीब दोब्बर बढे कम्तीमा चार हजार बिघामा खेती हुने अनुमान रहेको बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजुप्रसाद बावरा बताउँछन्। उनले उखुखेतीलाई बढावा दिन आफ्नो मिलले किसानलाई उन्नत जातको बीउसमेत उपलब्ध गराइरहेको बताएका छन्।

उखुखेतीको लागि किसानले चिनी उद्योगबाट प्रोत्साहन पनि पाइरहेको र समयमा चिनी उद्योगबाट भुक्तानी पनि पाइरहेको हुनाले उखुखेती विस्तार हुने निश्चित देखिएको किसानहरू नै बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here