राधेश्याम पटेल, परवानीपुर, २७ माघ/

पर्सा जिल्ला अन्तर्गत गण्डक नहरको सर्भिस लेनमा पाँचवटा पुल हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक डिभिजन कार्यालय, निजगढले पाँचवटा पुल निर्माणको लागि ठेक्का प्रक्रियामा रहेको र आगामी साउन मसान्तदेखि पुल निर्माणको काम शुरू गर्ने तयारी भइरहेको आयोजना कार्यालय, निजगढले जनाएको छ।

इन्जिनीयर नातिबाबू खड्काका अनुसार ओरिया, सिकटा, नवरङ्गिया, ढोङियालगायतमा पुल निर्माण शुरू हुन लागेको हो। एक वर्षदेखि पुलको लागत स्टिमेट तथा सर्भेपश्चात् ठेक्का प्रक्रिया शुरू भएको थियो भने अहिले मूल्याङ्कन सकिएर ठेकेदारहरूसँग सम्झौताको प्रक्रियामा रहेको र आगामी आवदेखि पुल निर्माणको काम शुरू हुने जनाइएको छ। पर्सा, बारा, रौतहटसम्म फैलिएको ८१ किलोमिटर लम्बाइको गण्डक नहरको सर्भिस लेनमा साना–ठूला गरी २२ वटा पुल रहेका छन्। गण्डक नहरको सर्भिस लेनलाई पहिले गण्डक नहरको डिल मरम्मत सम्भारको लागि नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, गण्डकले प्रयोग गर्दै आए तापनि पछिल्लो समय सो बाटोलाई तीनै जिल्लाको मध्य क्षेत्रको मुख्य बाटोको रूपमा प्रयोग गरिएको छ।

त्यसैगरी, सडक डिभिजन कार्यालयले गण्डक नहरको सर्भिस लेनलाई कालोपत्र गर्ने योजना अघि बढाएको छ भने क्षतिग्रस्त पुलहरूको नयाँ सिराबाट निर्माण गरी यातायात सहज पार्न योजना अघि बढेको उनले बताए।

पर्सा जिल्लाबाट गण्डक नहरको जीरोआरडी, जानकीटोलादेखि महुवननजीकको लखनपुर गाउँसम्म पर्ने पाँचवटा खोलामा पुल निर्माण हुन लागेका हुन्। तर गण्डक नहरको बाटोमा पर्ने पर्सा जिल्लाका मनियारी, जगरनाथपुरको श्रीसिया खोलाको पुल र बारा, प्रसौनीको त्रिवेणी खोलाको पुल सबैभन्दा बढी क्षतिग्रस्त भएको हुँदा पहिले ती खोलामा पुल निर्माण गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here