प्रस, वीरगंज, २७ माघ/
नेपाली काङ्ग्रेस, पर्साका युवाहरूले गहवामाईलाई गुहारपत्र चढाएका छन्। बिहीवार घण्टाघरमा भेला भएका युवाहरूले वीरगंजमा मौलाउँदो बेथिति, भ्रष्टाचार र अराजकता हटाउने अठोटका साथ गहवामाईलाई गुहारपत्र चढाएका हुन्।
युवा नेता कञ्चन झाको नेतृत्वमा घण्टाघरमा भेला भएका काङ्ग्रेसका युवाहरूले –याली निकाली गहवामाई मन्दिर पुगेर गुहारपत्र चढाएका हुन्। वीरगंजको मुहार फेर्ने वाचा गरेर जनतालाई भ्रमित गरी अझै पनि भ्रमको खेती नहटेको र उनीहरूले नै अद्भुत काम गरेको ढिढौंरा पिटिरहेको हुँदा वीरगंजको अस्तित्व जोगाइराख्न र यहाँको वैभव फर्काइ समृद्धितर्फ फर्काउन आशीर्वाद प्रदान गरून् भन्दै एक सूत्रीय मागसहित गहवामाईलाई गुहारपत्र चढाएको झाले बताए। उनले भगवान्भरोसे चलिरहेको वीरगंज शहरको भलो होस् भनेर नगरकी देवी गहवामाईलाई गुहारपत्र चढाएको प्रस्ट्याए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति महम्मद सहाबुद्दीनले जनप्रतिनिधिको लापरवाह चरित्रका कारण शहरको स्वरूप परिवर्तन हुन नसकेको बताए। उनले महानगरको विकासको लागि पटक–पटक ध्यानाकर्षण गराउँदा कुनै परिणाम नआएपछि साङ्केतिकरूपमा भगवान्लाई गुहार्नुपरेको बताए। उनले शहरको गरिमालाई कायम राख्न युवाहरूको सक्रियता आवश्यक रहेको भन्दै वीरगंज बनाउ अभियानमा सबै युवालाई सहभागी हुन आह्वान पनि गरे।
कार्यक्रममा नेका बुथ सभापति विशेश्वर पटेल, ठाराब क्याम्पसका प्राडा हरेराम ठाकुर, मधु राणा, पुरुषोत्तम दुबे, कनिका कौशिक, वडासचिव वीरेन्द्र गुप्तालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण रामनिवास यादवले गरेका थिए।