ओमप्रकाश चौधरी, सेढवा, २० पुस/

शीतलहरसँगै विगत पाँच दिनदेखि चीसो बढेका कारण जीराभवानी गापा–२ मुसहर बस्तीका बासिन्दाहरूलाई जीवनयापन गर्न समस्या भएको छ।

यहाँका बासिन्दाहरू खोला, पोखरी, जलाशयमा माछा मारेर दैनिक जीवन गुजार्दै आएका छन्। यसको अलावा उनीहरूमध्ये केही भैंसी, बङ्गुर पालनका साथै ज्याला मजदूरीमा संलग्न छन्। माछा मारेर जीवनयापन गर्नेहरूलाई अहिले शीतलहर र चीसोले पाँच दिनदेखि बेरोजगार बनाएको छ र काम अभावमा उनीहरूलाई बिहान–बेलुका खान पनि समस्या भएको छ।

स्थानीय भगनीदेवी मुसहरिनले केही व्यक्तिहरू चीसोको बावजूद माछा मार्ने कार्यमा संलग्न रहेको बताइन्। चार फिटसम्म गहिरो पानीमा प्रवेश गरेर माछा मार्ने र नजीकैको गाउँमा बिक्री गरेर चामल, दाल, तरकारीको जोहो गरिरहेको उनले बताइन्। जाडोमा कठ्याङ्ग्रिएर पेट भर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।

माछा नमार्दा परिवारका सदस्य भोको बस्नुपर्ने अवस्था भएकोले प्रतिकूल मौसममा पनि माछा मार्नुपरेको उनले बताइन्। यो टोलमा ८० घरपरिवार छन्। सबैको पेशा प्रायः माछा मार्ने हो। मुसहर समुदायको भएकाले शिक्षामा उनीहरूको पहुँच अहिलेसम्म बढेको छैन। ससाना बालबालिकाहरू परम्परागतरूपमा नाङ्गो खुट्टा, नाङ्गो जीउ घुर तापेर बस्नुपर्ने बाध्यता छ।

घुर ताप्नको लागि पनि दाउरा आदिको व्यवस्था छैन। न्यानो लुगाको अभावमा कोइली देवी सोमवार राति चीसो लागेर बेहोश भएकी थिइन्। घरमा सुत्नको लागि न्यानो ओछ्यानसमेत नहुँदा चीसो लागेर उनी बेहोश भएपछि स्थानीय क्लिनिकमा उपचार गराउनुपरेको मन्तिया देवीले बताइन्।

सोही टोलका नरेश माझीले वडा, गाउँपालिका र विभिन्न संस्थाहरूले यसअघि न्यानो कपडा र घुर बाल्न दाउरा उपलब्ध गराउँदै आएकामा यस वर्ष कसैले पहल नगरेको बताए। मुसहर बस्तीमा रहेका ८० घरपरिवारको खेत छैन। अर्काको खेतमा काम गरेबापत पाउने ज्याला र परालबाट ओछ्यान बनाएर उनीहरू गुजारा गर्दै आएका छन् भने परालकै घुर तापेर शीतलहर बिताउने गरेका छन्। परालको ओछ्यानबाट केही परिवार वञ्चित भएको र उनीहरूले थप पीडा भोग्नुपरेको माझीको भनाइ छ।

गर्मीमा पानी पर्दा र शीतलहर र चीसोमा उनीहरूले चरम समस्या भोग्दै आएका छन्। जनता आवास कार्यक्रमले यो क्षेत्रलाई अहिलेसम्म छुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here