प्रस, वीरगंज, २० पुस/
शीतलहर शुरू भएसँगै वीरगंज महानगरपालिकामा विभिन्न संस्थाहरूले न्यानो कपडा, दाउरालगायत वितरण कार्य शुरू गरेका छन्।
गत पाँच दिनदेखि शीतलहरसँगै बढेको चीसोबाट जोगिन हिजो सोमवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेशसभा सदस्य रमेश कुर्मीले वीरगंज वडा नं १, १७, २४, २५, २६ पाँच स्थानमा पाँच/पाँच क्वीन्टलको दरले दाउरा वितरण गरेका थिए।
बढ्दो चीसोमा केही राहत होस् भन्ने उद्देश्यले दाउरा वितरण गरिएको प्रदेशसभा सदस्य कुर्मीले बताए। दाउरा वितरण कार्यमा लोसपाका नेता शिव पटेल, वीरेन्द्र साह, शेख फिरोज, छोटेलाल साहलगायत सहभागी थिए।
यसैगरी, सामुदायिक सेवा केन्द्र, छपकैयाले वडा नं १६ मा साढे तीन सयजना गरीब, असहाय, विपन्न परिवारलाई कम्बल वितरण गरेको छ।
नेपाल राष्ट्रिय आधारभूत माविमा कार्यक्रम आयोजना गरी साढे तीन सयजनालाई कम्बल वितरण गरिएको हो। स्थानीय महबुब अलीको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, चण्डीप्रसाद गण वीरगंजका प्रमुख सेनानी मनोज कार्कीलगायतले गरीब, असहाय, विपन्न परिवारलाई कम्बल वितरण गरेका थिए।
केन्द्रका अध्यक्ष ग्यासु मियाँ ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रनि राजेश पुरीलगायतको सहभागिता थियो।
यसैबीच, चीसो बढेसँगै ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले वीरगंजका विभिन्न चोकमा मङ्गलवार साँझ दाउरा वितरण गर्ने केन्द्रका अध्यक्ष खेतानले बताए।
उनले आदर्शनगर, माईस्थान, घण्टाघरलगायतका चोकहरूमा दाउरा वितरण गरेर बटुवालाई आगो ताप्ने व्यवस्था मिलाउने बताए।