प्रस, वीरगंज, ८ पुस/

क्रिमसम डे मनाउनेहरूको सङ्ख्या वीरगंजमा बढ्दैछ । कोरोना सङ्क्रमणपछि यो वर्ष क्रिसमस मनाउनेहरूको सङ्ख्या बढेको होटल व्यवसायीहरूले बताएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तले डिसेम्बर २५ तारिखमा मनाइने क्रिसमसको लागि भारतीय पर्यटकहरू आउने क्रम शुरू भएको बताए ।

२०७६ सालको अन्त्यमा कोरोनाको प्रकोप बढेपछि भारतीय पर्यटकहरूको आवागमन रोकिएको थियो । लामो समयसम्म सीमा सिल भएको र हालै केही महीनाअघि सीमा खुलेको कारण यस वर्ष क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष मनाउने भारतीय पर्यटकहरू आउने आशा गरिएको उनले बताए ।

क्रिसमसको लागि भारतीय पर्यटकहरूले होटल बूकिङ शुरू गरिसकेको अध्यक्ष पन्तले बताए । वीरगंजमा साना–ठूला गरी सत्तरीवटा होटल छन् । यी सबै होटल अहिले बूकिङ हुने क्रममा छन्। मुख्यतः वीरगंजमा भारतीय पर्यटकहरू बढी आउँछन् । उनीहरू सौराहा, दामन, पोखरालगायतका पर्यटकीय स्थलहरूमा जाने गरेका छन् ।

वीरगंजमा क्रिसमस मनाउन दुई/तीन दिन अगाडिदेखि भारतीय पर्यटकहरू सपरिवार आएर बसिरहेको उनले बताए । क्रिसमस र नजीक आएको अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर होटल व्यवसायीहरूले विशेष छुटको व्यवस्था गरेका छन् । व्यक्तिगतरूपमा होटलहरूले बीसदेखि तीस प्रतिशतसम्म छुट दिने घोषणा गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here