प्रस, वीरगंज, १२ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले नक्कली नागरिकहरूमाथि मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेपछि अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूबीच भागदौड मच्चिएको समाचार छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा चैत १० गते ७५ वटा नागरिकताको फाइल पठाएको थियो। सोमध्ये ६८ जनामाथि नागरिकता ऐनसम्बन्धी मुद्दा दर्ता भइसकेको र बाहिरी जिल्लाबाट नागरिकता लिएका सातजनालाई अनुसन्धानका लागि सम्बन्धित जिल्लामा पठाएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक ओमप्रकाश खनालले बताए। अनुुसन्धान पूरा भएका चारवटा फाइललाई जिल्ला अदालतमा पठाएको प्रनाउ खनालले बताए। गैरनागरिकहरूले बेलाबखत नेपालबाट नागरिकता लिएपछि उनीहरूविरुद्ध परेको उजूरीमाथि छानबीन गरी आवश्यक कारबाहीका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सो फाइल पठाएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।
यसअघि नागरिकतासम्बन्धी छानबीन जिल्ला प्रशासन कार्यालय, पर्साले गर्दै आएको थियो। त्यहाँबाट हुने छानबीनमा कसूरवारसँग रकम असुल्ने गरिएको आरोप लाग्दै आएको थियो। अहिले यो अनुसन्धान प्रहरीमा पठाएपछि सोही अनुरूपको आरोप शुरू भएको छ। चैतमा जिल्ला प्रशासनले पठाएको फाइललाई लामो अवधिसम्म मुद्दा प्रक्रियामा नपु–याउनु र दर्ता भएका फाइलहरूका अभियुक्तहरूलाई पनि पक्राउ गरेर कारबाई प्रक्रियामा नल्याउनुले अहिले प्रहरीमाथि आर्थिक अनियमितताका आरोप लाग्ने गरेको छ।
नागरिकताको विषयमा अहिले मुद्दा फाँटमा दिनहुँ बिचौलियाहरूको चहलपहल बढेको एकजना प्रहरीले बताए।