प्रस, परवानीपुर, २७ कात्तिक/

वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी) भन्सार नाकाबाट अवैधरूपमा पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ । दैनिक करीब डेढ लाख लिटरभन्दा बढी डिजेल भारत जाने गरेको छ ।

आइसिपीबाट दैनिक करीब आठ सयभन्दा बढी मालवाहक सवारीसाधन नेपाल भित्रिन्छन् भने दैनिक चार सयभन्दा बढी गाडी भारत फिर्ता हुन्छन् । एउटा गाडीले नेपालबाट करीब ३६० लिटर डिजेल भरेर भारत जाँदा भन्सार नाकाबाट करीब डेढ लाख लिटरभन्दा बढी डिजेलको अवैध तस्करी हुने गरेको नेपाल आयल निगमका अधिकारीहरूको भनाइ छ ।

नेपाल आयल निगम वीरगंज कार्यालयका एकजना कर्मचारीका अनुसार भारतभन्दा नेपालमा अहिले डिजेल प्रतिलिटर करीब २९ रुपैयाँ सस्तो छ । एक साताअघि डिजेल प्रतिलिटर ५२ रुपैयाँ सस्तो नेपालमा थियो । भारत सरकार र बिहार सरकारले छठअघि प्रतिलिटर करीब भारतीय रुपैयाँ १४ घटाएको छ । अहिले भारतमा डिजेल प्रतिलिटर भारु ९२ अर्थात् नेरु १४७ प्रतिलिटर छ।

लिटरमैं २९ रुपैयाँ सस्तो पर्ने भएकोले वीरगंज प्रवेश गर्ने हरेक भारतीय गाडीले पर्सा/बाराकै पेट्रोल पम्पबाट फुल टङ्की (३६० लिटर) भरेर जाने गर्दा पर्सा र बारामा डिजेलको अभाव हुने गरेको छ । त्यसैगरी, नेपाल–भारत सीमा खुलेसँगै वीरगंज प्रवेश गर्ने मोटरसाइकलसहित अन्य हलुका सवारीसाधनले पनि वीरगंजबाट पेट्रोल र डिजेल भरेर भारत फर्किने हँुदा यस क्षेत्रमा इन्धनको हाहाकार हुने गरेको छ ।

भारतमा अहिले नेरु १७८ प्रतिलिटर पेट्रोल छ भने नेपालमा नेरु १३६ छ । लिटरमा ४२ रुपैयाँको फरक छ । यसैको फाइदा उठाउँदै वीरगंज प्रवेश गर्ने हरेक मोटरसाइकलले फुल टङ्की पेट्रोल भरेर जाने गरेको बताइएको छ ।

नेपाल आयल निगम वीरगंजका प्रमुख पवन यादवका अनुसार पर्सा र बाराका पेट्रोल पम्पलाई भारतीय सवारीसाधनको हकमा यात्राको दूरी हेरी इन्धन दिनु भनी निर्देशन दिए तापनि त्यसको पालना नहुँदा नेपालबाट भारततर्फ इन्धनको तस्करी भइरहेको बताए । “भारतीय गाडीको गन्तव्य हेरेर अधिकतम सय लिटरभन्दा बढी तेल दिन मिल्दैन, तर पम्पले बढी तेल दिन्छ,” उनले भने।

यता, नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनोद चौरसियाका अनुसार निगमबाट भारतीय गाडीलाई कति लिटर तेल दिनेबारेमा कुनै किसिमको निर्देशन रहेको छैन । उनले भने, “सबै भारतीय गाडीले आफ्नो मर्जी अनुसार तेल भराउँछन्, हामीले रोक्न मिल्दैन ।”

आइसिपीमा सशस्त्रले भारतीय गाडीसँग लिन्छ नजराना

आइसिपी भन्सारबाट निस्किने भारतीय मालवाहक गाडीबाट सशस्त्र प्रहरीले नजरानास्वरूप प्रतिगाडी दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म असुल्ने गरेको छ । भारतीय गाडीले एक खेपमा कम्तीमा १० हजारदेखि १५ हजार रुपैयाँको डिजेल तस्करी गरिरहेको भन्दै सशस्त्रले उक्त रकम असुल्ने गरेको आइसिपी भन्सार स्रोतले बताएको छ । “सशस्त्रका जवानहरूले पहिले गाडीको टङ्कीलाई लट्ठीले ठकठकाउँछन्, फुल टङ्की तेल रहेछ भने नजराना माग गर्छन्,” एकजना भन्सार कर्मचारीले भने, “भारतीय गाडीका चालकले पैसा नदिए कागजपत्र खोसिन्छ, गाडी साइड लगाइन्छ र भन्सारमा बुझाउने धम्की दिइन्छ ।”

सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक राजेन्द्र खड्कासँग यसबारेमा बुझ्दा उनले आफूलाई जानकारी नभएको दाबी गरे । “भारतीय गाडीबाट रकम असुलेको कुरा निराधार हो, सबुतप्रमाण अनुसार उजूरी आयो भने कारबाही गर्छु,” उनले भने, “भारतीय गाडीलाई ‘तेल खाली गरेर जा’ भनेर नमिल्ने भएकोले नेपालमा तेल भरेर भारतीय गाडी भारत गइरहेका छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here