प्रस, जनकपुरधाम, २७ कात्तिक/

जनकपुरधाम उपमहानगरपालिका–२० मा छठ पर्वका दिन अघ्र्य राख्ने विषयलाई शुरू भएको दुई समुदायबीचको विवाद साम्य हुन नपाउँदै फेरि उग्ररूप लिएको छ । दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ ।

वडा नम्बर २० देवपुरा रूपैठास्थित तेलिया पोखरीमा छठ पूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद भएपछि छठ पूजाकै दिन केही समयका लागि झडप भएको थियो । यद्यपि प्रहरीले बीचबचाउ गर्दा उक्त दिन विवाद साम्य भएको थियो ।

सोही विषयलाई लिएर शनिवार केही व्यक्ति घाइते भएका छन् । घाइते हुनेहरूमा नेपाल प्रहरीका एकजना र दुईजना सशस्त्र प्रहरी र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

घाइते प्रहरीको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए । उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जनभन्दा बढी राउन्ड अश्रु ग्याँससमेत प्रहार गरेको थियो ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति व्यवस्था कायम राख्नका लागि सो क्षेत्रमा २४ घण्टाका लागि निषेधाज्ञा लगाएको छ । जिप्रका धनुषाले विज्ञप्ति जारी गर्दै आज दिउँसो २ बजेदेखि भोलि आइतवार दिउँसो २ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाएको हो ।

पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म लागू हुने गरी निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

शनिवार केही व्यक्ति प्रदर्शन गर्दै रूपैठामा पुगेपछि फेरि विवाद शुरू भएको हो ।
रूपैठामा एक समुदायले अर्को समुदायलाई दबाएर राख्ने पटक–पटक प्रयास गर्दै आइरहेकाले त्यहाँ हुने धार्मिक कार्यक्रमहरूमा प्रत्येक वर्ष विवाद हुँदै आइरहेको स्थानीय बताउँछन् । आफ्नो वर्चस्व कायम गर्नकै लागि यस प्रकारको विवाद हुने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here