प्रस वीरगज, २१ कात्तिक/

वीरगंज महानगरपालिका–२० अपौनीमा शव गाड्ने विषयमा बढेको विवाद अन्त्यमा सहमतिमा टुङ्गो लागेको छ।

आइतवार बिहान १० बजेदेखि शुरू भएको विवाद साँझ पाँच बजे दुई पक्षबीच आपसी समझदारीमा टुङ्गो लागेको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। सहमतिपछि अन्तिम संस्कार सम्पन्न भयो। 

समाचार अनुसार दशनामी समूहका ७० वर्षीय पुनदेव गिरीको मृत्यु भएपछि सो स्थानमा अन्तिम संस्कार गर्न जाँदा अर्काे पक्षले रोक लगाएको थियो। दशनामी समूहले केही वर्षदेखि सो जग्गामा शव गाड्न छाडेकोले अबदेखि पुनः गाड्न खोज्नु अटेरीपना भएको अर्को पक्षको जिकिर थियो। तर दशनामी समूहले अन्तिम संस्कार गर्दै आएको स्थानमा यस प्रकारको विवाद शोभनीय नभएको बताएको थियो। सो स्थानमा अहिले अस्पताल, मन्दिर, खेल मैदान रहेको र बीचको सार्वजनिक जग्गामा शव गाड्न नहुने स्थानीयको जिकिर छ। दुई पक्षबीच विवाद बढेपछि प्रहरी परिचालन गरिएको थियो र सहमति भएपछि शवको अन्तिम संस्कार गरिएको थियो।

यसपटक शव गाड्न दिने र अब उप्रान्त सो स्थानमा शव गाड्न नपाउने गरी सहमति भएको छ। दशनामी समूहले अन्तिम संस्कार गर्ने सो ठाउँमा दुई वर्ष अघि पर्खाल लगाउने क्रममा विवाद भएको थियो र अहिले यो मुद्दा अदालतमा विचाराधीन छ। सो स्थानमा १५ वर्षदेखि कुनै शव नगाडिएको र अन्यत्र पाँच कठ्ठा जग्गा अन्तिम संस्कारका लागि दशनामी समूहलाई दिने कुरामा मौखिक सहमति भएको बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here