प्रस, पोखरिया, ३ असोज/

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको माग सम्बोधन नभए जुनसुकै बेला पनि आन्दोलन हुन सक्ने चेतावनी दिएका छन् ।

पकाहामैनपुर गाउँपालिकाको रामचरित्र भगत माविमा आइतवार शहीद शत्रुघ्न पटेलको छैटौं स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले मधेसको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले कुनै पनि बेला आन्दोलन हुन सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन सुझाए ।

अध्यक्ष ठाकुरले माओवादीले जनयुद्धको नाममा हजारौं मानिस मारेको भएपनि उनीहरू नै अहिले राज्यका उच्च पदमा बसेको, उनीहरूका सेनालाई रोजगार भत्ता दिएको, जनआन्दोलनका घाइतेहरूलाई उपचार गरेको तर मधेसको शान्तिपूर्ण आन्दोलनमा मधेसी जनतामाथि गोली चलाएको, घाइतेको उपचार नगरेको र जेल पठाएको जस्ता विभेदविरुद्ध आफूहरू अहिलेसम्म डटेर लागेको दाबी गरे ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम आन्दोलन हुने चेतावनी दिए । उनले देशभरिका शोषित, पीडितहरूलाई एकीकृत गरेर आन्दोलन गर्ने बताए ।

अहिलेसम्म नेपालको ७० वर्षको इतिहासमा सातपटक संविधान बनेको बताउँदै उनले प्रत्येकपटक संविधान बन्दा पनि मधेसीहरू अधिकारविहीन भएकाले संविधानविरुद्ध आन्दोलन गरिरहने चेतावनी दिए । उनले वर्तमान संविधान विभेदकारी भएको बताए ।

अर्का नेता लक्ष्मणलाल कर्णले यसअघिको केपी ओली सरकारले मधेसीको माग सम्बोधन गर्ने कुरामा आश्वस्त पारेपछि आफूहरू सरकारमा गएको प्रस्ट्याए । उनले आगामी दिनमा पनि ओलीसँग मधेसी अधिकारको लागि सहकार्य हुन सक्ने बताए । नेता कर्णले वर्तमान सरकार टिकाउ नभएको टिप्पणी गरे ।

उनले दुई महीना बढी भइसक्दा पनि मन्त्रिमण्डल गठन गर्न नसकेको सरकारले जनताको भलो गर्न नसक्ने ठोकुवा गरे । कर्णले उपेन्द्र यादवका कारण पार्टी फुटेको बताउँदै अहिले मन्त्रिमण्डलमा सहभागी नहुनुको कारण पनि पार्टी थप नफुटोस् भन्ने रहेको बताए । यादव समूह सरकारमा समाहित हुनेबित्तिकै सो पार्टी फुट्ने उनले दाबी गरे ।

शहीद पटेलकी आमा पकाहामैनपुर गापाकी उपप्रमुख कुसुमी देवीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्वमन्त्री जीतेन्द्र सोनल, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, रमेश कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शशिकपूर मियाँले स्वागत र कृष्ण पटेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here