प्रस, वीरगंज, ८ साउन/
पोखरिया जिल्ला अस्पतालको अवस्था दिन प्रतिदिन बिग्रिंदै गइरहेको भन्दै स्थानीयले शुक्रवार मुख्यमन्त्री लालबाबू राउत गद्दीको ध्यानाकर्षण गराएका छन् ।
जनता समाजवार्दी पार्टीका नेता निजामुद्दीन समानीको नेतृत्वमा स्थानीयले मुख्यमन्त्री गद्दीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सो अवसरमा नेता समानीले प्रदेश सरकार मातहतमा रहेको पोखरिया अस्पतालमा अहिले देखिएका समस्याहरू यथाशीघ्र सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई अनुरोध गरे । उनले अस्पतालमा पिसिआर मेशिन, भेन्टिलेटर, १५ शøयाको आइसियू, प्रसूति सेवाका उपकरण, दक्ष जनशक्तिको व्यवस्थापन, अस्पताल व्यवस्थापन समिति गठन, युपिएस, वातानुकूलित यन्त्र र ट्रान्सफर्मर जडान आदिका बारेमा मुख्यमन्त्री गद्दीलाई जानकारी गराएका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री गद्दीले पोखरिया अस्पतालको समस्या समाधान गनेतर्फ पहल गर्ने आश्वासन दिए । उनले ग्रामीण क्षेत्रका मानिसहरूका लागि पोखरिया अस्पताल पहिलो प्राथमिकतामा पर्ने हुनाले यहाँको समस्या समाधान गर्न आफूले इमानदार प्रयास गर्ने बताए ।