काठमाडौं ७ साउन/रासस
भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२औं ग्रीष्मकालीन ओलम्पिक अन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
बिहीवार सार्वजनिक भएको खेलतालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनले ४८ किलो तौल समूहमा इरिनाको सामना गर्नेछिन् । भट्ट विश्व वरीयतामा १२७औं स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । उक्त खेल साउन ९ गते हुनेछ । पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ ।
भट्ट वाइल्ड कार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा कास्य पदक जितेकी थिइन् । उनले महिला ४८ किलोमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।
डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रूस ओलम्पिक खेलमा देशका रूपमा सहभागी छैन । रसियाका खेलाडीले रूस ओलम्पिक कमिटीको झन्डामुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।