प्रस, परवानीपुर, १८ असार/
औद्योगिक प्रयोजनबाहेक ट्रेडिङ व्यवसाय गर्ने उद्देश्यले वीरगंजको सुक्खा बन्दरगाह भन्सारबाट पछिल्लो ११ महीनामा २ अर्ब २५ करोड ९९ लाख ८७ हजार मूल्यबराबरको केराउ, सुपारी, मरिच र छोहोरा भित्रिएका छन्।
चालू आवको गत साउनदेखि जेठ मसान्तभित्र पछिल्लो ११ महीनामा रु ३४ करोड ७३ लाख ९१ हजार राजस्व तिरेर विभिन्न आयातकर्ताले २ अर्ब २५ करोड ९९ लाख ८७ हजार मूल्यबराबरको ४ करोड ७ लाख ४४ हजार ६३३ किलो ती सामग्री आयात गरेका श्रीसिया सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले जानकारी गराए। उनका अनुसार केराउ आयातमा १५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने गर्छ भने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर छुट गरिएको छ।
त्यसैगरी, सुपारीमा प्रतिकिलो रु ४५ भन्सार महसूल, प्रतिकिलो २५ रुपियाँ अन्तःशुल्क र १३ प्रतिशत मूअक लाग्ने गर्छ। त्यसैगरी, मरिचमा २० प्रतिशत भन्सार महसूल, १३ प्रतिशत मूअक लाग्छ। त्यस्तै, छोहोरामा १० प्रतिशत भन्सार महसूल, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूअक लाग्ने गर्छ।
चालू आवको पछिल्लो ११ महीनामा रु २४ करोड ३१ लाख ४ हजार राजस्व तिरेर रु २ अर्ब २ करोड २२ लाख ७८ हजारको ३ करोड ८७ लाख ४८ हजार ३ सय ८ किलो केराउ मात्रै भित्रिएको छ भने रु ८ करोड ४३ लाख ८५ हजार राजस्व तिरेर १५ करोड ६० लाख १५ हजार ९ सय ७ मूल्यबराबरको ११ लाख ९२ हजार किलो सुपारी, रु १ करोड ५७ लाख ५ हजार राजस्व तिरेर ६ करोड ३२ लाख ३४ हजार मूल्यबराबरको ७ लाख ४८ हजार ८ सय २५ किलो छोहोरा भित्रिएको छ ।
त्यसैगरी, रु ४१ लाख ९६ हजार राजस्व तिरेर १ करोड ८४ लाख ५८ हजार मूल्यबराबरको ५५ हजार ५ सय किलो मरिच पनि भित्रिएको जनाइएको छ।
गोप्यरूपमा कोटा वितरण भएपछि आयो ४४ करोडको सामान
सरकारले केराउ, सुपारी, मरिच र छोहोराको आयात अस्वाभाविक भएको भन्दै चालू आवको करीब ९ महीना परिमाणात्मक बन्देज लगाएर यी चार वस्तुको आयात रोकेको थियो। तर गत चैत २५ गते सरकारको निर्णय अनुसार सत्तासीन नेताका आसेपासे व्यवसायीलाई गोप्यरूपमा कोटा वितरण गरिएको थियो।
कोटा बाँड्न सरकारले निवेदन माग गरे तापनि गोप्यरूपमा कोटा वितरण गरिएपछि सरकारको आलोचना भएको थियो। सरकारले नेपालमा खपतको आधारमा सुपारी २५ हजार टन, केराउ ८० हजार टन, मरिच १५ हजार टन र छोहोरा ५ हजार टन मात्र आयात गर्नेगरी केही व्यवसायीलाई कोटा वितरण गरेको थियो। केराउको ८० हजार टन कोटामध्ये करीब ३८ हजार टन भित्रिसकेको छ।
वितरित कोटा अन्तर्गतका वस्तु असार ३१ गतेसम्म विदेशबाट जहाजमा लोड भइसक्नुपर्छ। अन्यथा ती वस्तुको भन्सार बिन्दुमा जाँचपास नहुने सरकारको निर्देशन छ।
विदेशबाट कन्टेनरमा रेलमार्ग हँुदै भाडा र दूरीको हिसाबले सबैभन्दा नजीकको भन्सार कार्यालय श्रीसिया सुक्खा बन्दरगाह हो। त्यसै कारण कोटा वितरण भएको केही दिनपछि यी वस्तुको आयात शुरू भएको थियो। जेठ २५ गतेदेखि जेठ मसान्तसम्ममा मात्रै ४४ करोड १४ लाख मूल्यबराबरको केराउ, सुपारी, छोहोरा आयात भएको छ। मरिच यो अवधिमा आयात भएको छैन।
अस्ट्रेलिया, अमेरिका, युक्रेन, क्यानडा, पाकिस्तानलगायतका देशबाट केराउ, मरिच, छोहोरा, सुपारी आयात गरी भारतीय सीमा बजारमा तस्करी भइरहेको भएको भन्दै सरकारले भन्सार दरबन्दी बढाउँदै आएको छ भने परिमाणात्मक बन्देज पनि लगाउने गरेको छ।