प्रस, वीरगंज, १८ असार/
शुक्रवार परेको वर्षाले पनि वीरगंजलाई डुबायो।
बिहीवार बेलुकीदेखि परेको अविरल वर्षाले शुक्रवार बिहान वीरगंजको मुख्य बजार आदर्शनगरसहित विभिन्न वडा डुबानमा परे।
श्रीसिया खोलामा आएको बाढीले खोलानजीकका विभिन्न वडा डुबानमा परेका छन्। खोलाको बहाव निरन्तर बढिरहेकाले बस्तीमा पानी कम हुन सकेको छैन। आज बिहान परेको पानीले छपकैया, आदर्शनगर, रानीघाट, गहवा, रामटोल, श्रीपुरलगायतका क्ष्Fेत्र डुबानमा परे।
जिल्ला प्रशासन कार्यालय क्षेत्रमा पानीको बहाव बढी थियो। सवारीसाधन सञ्चालनमा आउन सकेनन्। अन्य दिनभन्दा आज पानीको बहाव त्यहाँ बढेको थियो। महानगरका विभिन्न वडामा शुक्रवार बिहानको पानीले बितण्डा मचायो। वीरगंज महानगरमा वर्षे पानीको निकास श्रीसिया खोलासँग सम्बन्धित छ। यहाँको पानी अन्य समयमा पनि सोही खोलामा विसर्जन हुन्छ।
अहिले श्रीसियामा पानीको बहाव कम नभएकोले महानगरको पानीको निकास रोकिएको छ। त्यसैले पानी परेको बेला महानगरका विभिन्न वडा डुबानमा पर्ने गरेका छन्।