प्रस, निजगढ, १७ असार/
असार १ गते लागूऔषध गाँजा तस्करसँग ७ लाख रकम बार्गेनिङ गर्ने रतनपुर अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराले तानेको छ।
रतनपुर जङ्गलमा अटोबाट ६० किलो गाँजा बरामद भएको घटनामा मोटरसाइकलबाट अटोको स्कर्टिङ गर्दै आएका निजगढ नगरपालिका–१२ का ३२ वर्षीय दिनेश भनिने इन्द्रबहादुर भुलन र सोही ठाउँका ३५ वर्षीय सोमबहादुर थिङलाई रतनपुर अस्थायी प्रहरी चौकीका इन्चार्ज यादवको टोलीले पक्राउ गरेको र उनीहरूसँग लेनदेनको विषयमा बार्गेनिङ मिलेपछि छोडिएको घटनामा प्रसनि यादवलाई जिप्रका बारामा बुधवार तानिएको छ।
बार्गेनिङमा छाडिएका थिङले प्रसनि यादवले आफूलाई हत्कडी लगाइ ७ लाख रकम बार्गेनिङ गरेको र पछि २ लाख ५० हजार दिने शर्तमा कुरा मिलेपछि तत्कालै आधा घण्टापछि आफू र भुलनलाई छाडिदिएको बताएका थिए।
सो घटना बाहिर आएसँगै प्रहरीले घटनामा संलग्नहरूलाई खोजी गरिरहेको छ, तर हालसम्म उनीहरू पक्राउ परेका छैनन्।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शङ्कर चौधरीले भुलनलाई समात्ने प्रयास भइरहेको बताए। भुलनले घटनाको दिन प्रयोग गरेको प्रदेश २–०३–००८ प २६७३ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।