प्रस, निजगढ, १७ असार/

निजगढ नगरपालिकाको असारे कामको असर अहिले निजगढ भ्यू टावर क्षेत्रमा देखिएको छ। वडा नं ४ बागदेवस्थित निजगढ भ्यू टावर पहिरोको उच्च जोखिममा परेसँगै निजगढ नगरपालिकाको १० लाख रुपैयाँको लागतमा अन्य निर्माण कार्यसँगै लगाइएको पर्खाल अहिले भत्किएको छ। शहीद हीरालाल पार्क विकास समितिले छिटो काम सक्ने र असारे भुक्तानी लिने हतारोका कारण यसको असर तुरुन्तै देखिएको हो।

निजगढ नगरपालिकाबाट पहिरो रोकथामका लागि १० लाख रकम विनियोजन भएको छ। करीब २ लाख रकमबराबरको पर्खाल क्षतिग्रस्त भएको छ। प्राविधिकको सल्लाह अनुसार आफूहरूले काम गरेको शहीद हीरालाल पार्क विकास समिति निजगढ–४ बाराका अध्यक्ष रमेश अर्यालले बताए। “हामीले प्राविधिकले दिएका इस्टिमेट अनुसार गुणस्तरीय काम गरेका छौं। थोरै रकमबाट यहाँको पहिरो रोकथाम गर्न सकिने अवस्था पनि छैन,” अध्यक्ष अर्यालले भने।

कतिखेर काम शुरू गर्छन्। हामीलाई थाहा दिंदैनन्। समितिको नाउँमा जथाभावी आफ्नै ढङ्गले काम गर्ने अनि काम बिग्रिए, भत्किए सोझै प्राविधिकमाथि दोष थुपारेर समितिले उम्कने दाउ रचेको निजगढ नपाका प्राविधिक रोशन साहले बताए। खुकुलो खालको माटोसहितको ढुवानी खर्च इस्टिमेटमा रहे पनि भ्यू टावरनजीकैको चुरे पहाड काटेर माटो फिलिङ गरिएको छ।

प्राविधिकले तयार पारिदिएको लागत इस्टिमेट अनुसार काम र सुझाव नमान्दा यस्तो समस्या आएको निजगढ नगरपालिकाका इन्जिनीयर रूपेश यादवको पनि भनाइ छ। यसरी सिमेन्ट प्रयोग गरी निर्माण गरिएका पर्खाल राम्रोसँग सुक्न नदिंदै जरबजस्ती माटो भर्दा पर्खाल भत्किएको उनले भने।

गत वर्ष पनि यसरी नै पहिरो रोकथामका लागि निर्माण गरिएको पर्खाल भत्किएको थियो। चार वर्षअघि करीब रु ५६ लाखको लागतमा नगर विकास कोषको लगानीमा निजगढ भ्यू टावर निर्माण सम्पन्न भएको हो।

यस वर्ष सो पार्कमा थप कार्य गर्नका साथै सौन्दर्यीकरण गर्न सङ्घीय सरकारबाट ५५ लाख, प्रदेश सरकारबाट ५ लाख र निजगढ नगरपालिकाबाट १० लाख गरी कुल रु ७० लाख रकम प्राप्त भएको छ। अहिलेसम्म १ करोडभन्दा बढी रकम खर्च भएपनि पार्कले खासै गति लिन सकेको छैन।

शहीद हीरालाल गौतमको नाममा आएका रकमको सही सदुपयोग हुनुपर्ने शहीदपत्नी गायत्री गौतमले बताइन्। उनले आफूलाई कुनै जानकारीसमेत नदिने गरेको बताइन्।

पार्क विकास समितिकी कोषाध्यक्ष रहेकी गौतम नगरपालिकामा करारमा नियुक्त भएपछि सो पदबाट हटाइएको छ। तर करार कर्मचारी भएकै कारण समितिबाट हटाउनु न्यायोचित नभएको उनको तर्क छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here