प्रस, जनकपुरधाम, १५ असार/
प्रदेश–२ को प्रदेशसभा बैठक मड्डलवार दिउँसो २ बजेका लागि बोलाइएकोमा बैठक नबसी स्थगित भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धमा कुरा नमिल्ने भएपछि बैठक स्थगित भएको हो। बितेको असार १ गते प्रदेशसभामा प्रस्तुत आउँदो आव २०७८/७९ को बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएकोमा बैठकै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएको छ । प्रदेशसभाको बैठक अब असार २३ गते बस्ने प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले जानकारी दिए।
गत असार १ गते प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट प्रस्तुत गरेपछि सोही दिन बसेको अर्को बैठक विपक्षी सांसदले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्ध गरेका थिए। सांसदहरूले संसदीय विकास कोषको रकम वृद्धि नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्। सोही दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सो दिन स्थगित गरी मड्डलवारका लागि बैठक आह्वान गरिएको थियो।
सांसदहरूको असन्तुष्टिबारे संसद् सदस्यहरूसँग प्रदेश सरकारले छलफल नै नगरी बैठक बोलाएपछि सरकारमा सहभागी दलका सांसदहरूसमेत रिसाएका थिए। संसदीय विकास कोषको रकम वृद्धि गर्नुपर्नेमा सत्तारूढ दलका सांसदहरूको समेत समर्थन विपक्षीतर्फ हुन सक्ने सङ्केत पाएकाले पुनः संसद् अवरुद्ध हुने आशङ्कामा प्रदेशसभा बैठक स्थगित गरिएको बताइएको छ।
असन्तुष्ट सांसदहरूले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख संसदीय विकास कोषमा रकम उपलब्ध गराउन माग गरेका छन्। सरकारी बजेट फ्रिज भइरहेको तर सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेट भने पूरा खर्च भइरहेको उनीहरूको तर्क छ।