प्रस, सेढवा, १४ असार/
पर्साको ग्रामीण भेगमा वर्षेबाली धानको रोपाइँ शुरू भएको छ । यस वर्ष पटक–पटक वर्षा भएको कारण धानको बीउ राख्न ढिला भएकोले रोपाइँमा पनि सोको असर परेको छ ।
जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकाका किसानहरूलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । रोपाइँको लागि ब्याडमा बीउ तैयार भएको र पानी परेपछि किसानहरूले रोपाइँ शुरू गरेका छन् । किसानहरूले भदैइ मन्सुली, सोना सारो, सोना मन्सुली, मोटरी मन्सुली तथा हाइब्रिड जातका धानको रोपाइँ गरिरहेको बताएका छन् ।
सिंचाइको व्यवस्था नभएको तथा उचाइँमा रहेको खेतमा रोपाइँ भइरहेको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान रामाशङ्कर चौधरीले बताए । अगहनी धान अन्तर्गत पर्ने अन्य जातिका धानको रोपाइँ पनि भइरहेको उनले बताए । लगातार परेको पानीका कारण खेतमा पानी जमेको तथा पानी नजमेको खेतमा थोरै बोरिङ चलाएर पानीको आवश्यकता पूरा हुने भएकोले अहिले रोपाइँको चटारो भएको पटेर्वासुगौली गापा–३ का किसान भागवत चौधरीले बताए ।
गत वर्ष आधा असारसम्म साठी प्रतिशत रोपाइँ सकिएको चौधरीले बताए । उनले यस वर्ष आकाशे पानीको कारण सिंचाइमा लाग्ने खर्च बचत भएको बताए ।
चैते धान भित्रयाउन समस्या
रोपाइँ शुरू भएसँगै ज्यामीको अभाव भएको कारण चैते धान भित्रयाउन समस्या भएको छ । जीराभवानी, ठोरी र पटेर्वासुगौली गाउँपालिकामा चैते धानको खेती हुने गरेको छ । यो धान अहिले पाकिसके पनि भित्रयाउनलाई ज्यामी नपाउँदा समस्या भएको जीराभवानी गाउँपालिका–१ शान्तिनगरका किसान रवीन्द्र श्रेष्ठले बताए । एक त वर्षाले हैरान गरेको छ, त्यसमाथि ज्यामी नपाउँदा समस्या भएको उनले बताए । आफ्नो खेतमा हार्भेस्टर मेशिन जान नसक्ने, ज्यामीले प्रतिबिघा धान काट्न आठ हजार रुपियाँ माग गरेको उनले बताए ।
धानखेतीमा लागत बढिरहेको र सो अनुरूपको मूल्य नपाएको उनले गुनासो गरे । अहिले चैते धान अर्थात् नयाँ हर्दिनाथ धान प्रतिक्विन्टल एक हजार सात सयदेखि एक हजार नौ सय रुपियाँमा बिक्री भइरहेको छ । धान काट्न जाँदा दिनभरिमा बीसदेखि तीस किलो धान ज्याला पाउने तथा रोपाइँको समयमा बीउ उखेल्न जाँदा रु १ एक हजारभन्दा बढी ज्याला पाउने गरेको ज्यामीहरू बताउँछन् । यसैले अहिले धान काट्नका लागि ज्यामी पाउन समस्या भएको छ ।