प्रस, ठोरी, १४ असार/
नेपाल शिक्षक महासङ्घ ठोरी र ठोरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठक नेराआवि निर्मलबस्तीमा सम्पन्न भएको छ ।
महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा बसेको संयुक्त बैठकले महासङ्घ केन्द्रीय कार्यसमितिले निर्धारण गरेका आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्नका निम्ति महासङ्घ ठोरीका सचिव दीपेन्द्रकुमार सापकोटाको संयोजकत्वमा ११ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ । समितिमा विदुरप्रसाद सापकोटा, ढलकबहादुर श्रेष्ठ, आशाकाजी गोले, फुर्वा लामा, राजेन्द्र कार्की, शोभा तामाङ, सुनीता बुढाथोकी, चिरञ्जीवी सापकोटा, कृष्णप्रसाद पौडेल र नारायण लामा सदस्य रहेको महासङ्घ ठोरीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, महासङ्घका अन्य आन्दोलनका कार्यक्रमहरूमा असार १५ गते मङ्गलवार ठोरी गाउँपालिकाको कार्यालयअगाडि सरकारले शिक्षक तथा कर्मचारीहरूलाई कोरोनाको खोप नदिएको विषयको आलोचना गर्दै कोभिड–१९ का कारण मृत्युवरण गरेका शिक्षक, कर्मचारीहरूको स्मरण गर्दै दिनको २ बजे मैनबत्ती बालेर श्रद्धाञ्जलि प्रकट गर्ने कार्यक्रम रहेको छ भने असार १६ गते बुधवार महासङ्घ र प्रधानाध्यापकहरूबीच अन्तत्र्रिmया गर्ने निर्णय भएको छ ।
त्यस्तै, असार १८ गते शुक्रवार आन्दोलन परिचालन समितिको संयोजनमा ठोरीका शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा ठोरी गाउँपालिकाको कार्यालयमा बिहान १० देखि दिउँसो १ बजेसम्म धर्ना दिने र असार १९ गते शनिवार बिहान ७ः३० बजे ठोरी–२ को वनशक्ति आधारभूत विद्यालयमा राजनीतिक दल तथा शिक्षक–कर्मचारीबीच अन्तत्र्रिmया कार्यक्रम गर्ने निर्णय भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा गृष्म आवि रामनगरकी बालबिकास स्वयंसेवक शिक्षकलाई विव्यस अध्यक्षले धम्की दिएको विषय सञ्चारमाध्यमा आएकाले महासङ्घको ध्यानाकर्षण भएको र उक्त समस्याको समाधान गर्न आजको बैठकले त्यसै विद्यालयका प्रधानाध्यापकलाई अनुरोध गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । आजको बैठकमा महासङ्घका पदाधिकारीहरू, प्रधानाध्यापकहरू र शिक्षक सङ्घसङ्गठनका अध्यक्षहरूको समेत सहभागिता थियो ।