नितेश कर्ण, वीरगंज, १४ असार/
पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरीले सोमवार वीरगंजमा पत्रकार सम्मेलन गरी पाँचौं नगरसभा गैरकानूनी तरीकाबाट भएकोले खारेजीको माग गरेकी छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम उपप्रमुखले प्रस्तुत गर्नुपर्नेमा असार १० गते पर्सागढी नपाको पाँचौं नगरसभामा आफू उपस्थित हुँदाहुँदै पनि नगरप्रमुख लोकनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको मिलिभगतमा नगरसभा सदस्य नरहेका व्यक्तिबाट प्रस्तुत गराइएको बताइन् ।
उपप्रमुख चौधरीले नगरसभा निर्धारित समयभन्दा तीन घण्टा ढिलो सञ्चालन भएको तर नगरसभामा प्रस्तुत गर्नुअघि नगर कार्यपालिकाको बैठकबाट नीति तथा कार्यक्रम, बजेटलगायत ऐन, नियम, निर्देशिका पारित गराउनुपर्नेमा सो पनि नगराइएको आरोप लगाइन्। उनले पर्सागढी नपाको पाँचौं नगरसभा गैरकानूनी तवरबाट आयोजना भएकोले आफूले खारेजीको माग गरेको बताइन् ।
पर्सागढीका उपप्रमुख चौधरी र नगरप्रमुख यादव नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।