प्रस, निजगढ, १४ असार/

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरीमा सोमवार वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं २ का सहायक वन अधिकृत सुजितकुमार झाले वनजङ्गल पातलिंदै जाँदा यसको असर वातावरणमा पर्ने बताए । उनले खाली नदी उकास जमीनहरूलाई वृक्षारोपण गरी हराभरा बनाउन आग्रह गरे । चुरेको फेद आसपासमा रहेको तराई–मधेसमा कहिले भारी वर्षा हुने, कहिले लामो समयसम्म खडेरी हुने हुँदा यसबाट मानवबस्ती, वनजङ्गल, पर्यावरणमा असर पुगिरहेकाले वनजङ्गलको संरक्षण र वृद्धिबाट नै यी समस्या निराकरण हुँदै जाने उनले बताए ।

प्रदेश हरित अभियान प्रदेश नं २ मा एक सातासम्म चल्ने बताउँदै आठवटै जिल्लाका डिभिजन वन कार्यालयको सहभागितामा ११ हजार हेक्टर खाली जमीन, नदी उकास क्षेत्रमा १४ लाखभन्दा बढी बिरुवा रोपिने योजना रहेको उनले बताए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं २ का कानून अधिकृत बालकृष्ण मिश्र, डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, चकरीका वडाअध्यक्ष मनिक थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक वन अधिकृत सत्यदेव यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here