प्रस, ठोरी, ७ असार/
किसानले परम्परागत मकैखेती छाडेर उन्नत जातको मकैखेती गर्न थालेका छन् । हाइब्रिड वा अन्य प्रजातिका मकै खेती गर्दा ड्याङ बनाएर रोप्ने र कोदालोको सहायताले गोडमेल गर्ने चलन प्रायः सबैतिर छ । तर पर्साको ठोरी गाउँपालिका–४ मा अझै पनि मकै गोड्नको लागि पुरानै ढङ्गले मकै जोत्ने चलन छ । यस क्षेत्रमा किसानले पुराना स्थानीय प्रजातिका मकै लगाउँछन् भने कोदालोले गोडमेल गर्नुको सट्टा हलोले जोत्ने गर्छन् ।
जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म साबिक निर्मलबस्ती गाविसको वडा नं ५ र ६ का किसानलाई अहिले मकै बारी जोत्न र ढलेको मकै उठाउन चटारो छ । यहाँका किसानले कोदालोले मकै गोडमेल गर्दैनन् । मकैको बिरुवा अलि हुर्केपछि गोरु वा राङाको सहयोगले हलो लगाएर जोत्छन् ।
मकैमा हलो नलगाए मकै राम्रोसँग नफल्ने ठोरी गापा–४ पीपलडाँडाका ६० वर्षीय किसान धनबहादुर तामाङले बताए । उनलाई सम्झना भएसम्म यहाँका किसानले तीन दशकभन्दाअघिदेखि यसैगरी मकै जोत्दै आएका छन् ।
उनले भने, “पहिले सबै किसानले हलोले जोत्दै मकै छर्ने गर्थे तर अचेल गोरु र राङा पाल्नेको सङ्ख्या कम भएपछि प्रायः सबैले ट्याक्टरले जोतेर मकै छर्ने गरेका छन् । तर मकै गोड्न हलोले जोत्ने चलन भने अझै हराएको छैन ।”
मकै हलोले जोत्दा मकैको बिरुवा बढ्ने र मकै धेरै फल्ने यहाँका किसानहरूको भनाइ छ । हलोले गहिरोसँग जोत्ने भएकोले मकैको जरा जमीनमुनि भित्रसम्म जाने भएकोले हावाहुरीबाट समेत बच्ने तथा बिरुवा बढ्न सहज हुने मानबहादुर गोलेले बताए । अगाडि एक हल गोरु वा राङा र एकजना मानिसको सहायतामा मकै जोत्ने र पछाडि अन्य मान्छेले ढलेको मकै उठाउने यहाँको परम्परागत चलन अझै पनि कायम रहेको उनले बताए ।
हलोले जोत्दा सकेसम्म मकैको बोटलाई छाडेर खाली भागमा जोत्ने गरिएको र जसलाई स्थानीय भाषामा डाँफे हान्ने भनिन्छ । यस क्षेत्रमा मकै जोत्नका लागि बर्मेली वा काठे हलोको प्रयोग गरिन्छ । कोदालोले मकै गोडमेल गर्दा धेरैजनाले मेहनत गर्नुपर्ने भएकाले यहाँका किसानलाई हलोले जोत्न सहज हुने गरेको छ ।
पछिल्लो समय ट्याक्टरको सङ्ख्या बढ्दै गएपछि गाउँँघरमा गोरु र राङा पाल्ने चलन कम हुँदै गएको छ । जसले गर्दा जोत्नका लागि गोरु र राङा पाउन गा-हो भएको वडा नं ४ का रामचन्द्र रिसालले बताए । पहिले सहजरूपमा गोरु र राङा पाइन्थ्यो तर अहिले मकै जोत्न पालो पर्खिनुपर्ने उनले बताए । यहाँ अहिले एक हल गोरु एक बिहान जोतेको रु १ हजारदेखि रु १५ सयसम्म तिर्नुपर्छ ।