सप्तरी, ७ असार/रासस
गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुर्ईजनालाई सोमवार नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानी कुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको छ ।
हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा गत शुक्रवार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार भएको थियो । यौन दुव्यर्वहारपछि हत्या गरेको आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपूछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।
हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरू हुन सक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको बताइएको छ ।