सर्लाही, ११ जेठ/रासस
लालबन्दी नगरपालिका—७ को माछाबजार दिन प्रतिदिन दुर्गन्धित भएको छ। सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापनसमेत उचित तरीकाबाट नहुनुका साथै हप्तामा दुर्ई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ।
नगरपालिका—७ को भित्री बजारमा सोमवार र बिहीवार बजार लाग्ने गर्दछ। बजारको व्यवस्थापन समिति रहे पनि बजारको व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्र्न जानेहरू पनि हैरान भएका छन्। भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरू र शृङ्गारका सामानहरूको स्थायी सटरहरू बनाइएका भएपनि पशुपक्षी तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नुपर्ने बाध्यता रहेको र ती सामग्रीहरूबाट निस्केका फोहोरको व्यवस्थापन गर्न सरोकारवाला निकाय बजार व्यवस्थापन समिति र वडाध्यक्षले चासो नदेखाउँदा आफूहरू दुर्गन्धित बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरूको गुनासो छ। आफूहरूले व्यापार–व्यवसाय गरेबापत समिति, वडा कार्यालय र विद्यालयलाई करसमेत बुझाइरहेको व्यापारीहरूले बताएका छन्।
यस क्षेत्रमा लगाइने बजार जनज्योति मावि लालबन्दीको जमीन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ। सो बजारमा करीब ८०० स्टल रहेका र प्रतिसटरको प्रतिफिट नापेर विद्यालयले कर असुल्ने गरेको छ। सटर नहुने र अस्थायीरूपमा बस्नेहरूका लागि भने समितिले हप्ते कर असुल्ने गरेको छ। यसरी कर तिरेर आफूहरू बसेको भएपनि समिति र विद्यालयले कुनै व्यवस्था नगरिदिंदा वर्षामा घुँडासम्म पानी जम्ने गरेको व्यापारीहरूको गुनासो छ।
तरकारी तथा मासु पसलबाट निस्कने फोहरका साथै बजारभरिको फोहोरसमेत जथाभावीरूपमा फालिने गरेकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरू पनि नाक मुख थुनेर हिंड्न बाध्य भएका छन्। आफूले सरोकारवाला निकायहरूको बैठकहरूमा बजार व्यवस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिकालगायत अन्य सरोकारवाला निकायहरूले चासो नदेखाएका उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए।
बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफूहरूले काम गरिरहेको र अब ढल निकासको काम बाँकी रहेको बताए। उनका अनुसार ढल निकासका लागि ७ नं वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सिर्जना भएको र चाहेर पनि आफूले ढल निकासको काम गर्न नपाएको बताए। जनज्योति मावि लालबन्दीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनीष माझीका अनुसार विद्यालयले करीब ४५० वटा सटर र स्टलबाट प्रतिमहीना रु ५०० देखि रु एक हजार ५०० सम्म शुल्क उठाउने गरेको र वार्षिक करीब रु ७५ लाख रकम सङ्कलन हुने गरेको बताए।
ढल निकास नहुँदा सो क्षेत्रमा व्यापारीहरू र सामान खरीद गर्न आउने सेवाग्राहीलाई हिउँदामा धुलाम्मे र वर्षामा हिल्लाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यवस्थापन समिति र विद्यालयबीच तालमेल नमिल्दा काम हुन नसकेको बताए।
त्यसैगरी, ७ नं वडाका अध्यक्ष सुरेन्द्रकुमार न्यौपानेले बजार व्यवस्थापन र सुन्दर बजार बनाउन विभिन्न काम भइरहेको जानकारी दिए।