काठमाडौं, ११ जेठ/रासस

‘चक्रवात यास’का कारण मङ्गलवार अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ। पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो।

यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधवारसम्म थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। ‘चक्रवात यास’ उत्तर–उत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ।

चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ। मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेको छ। तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत चल्न सक्ने सम्भावना रहेकोले केही दिनसम्म पर्वतारोहीलाई मौसम अनुसार सतर्कता राखी सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै बुधवारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ। बिहीवार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुर्ई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले सबैलाई आवश्यक सतर्कता राख्न महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here