प्रस, वीरगंज, २३ वैशाख/

                निषेधाज्ञा बढेसँगै अस्पताल, सडक फूटपाथमा जीवनयापन गर्ने गरीब, विपन्नहरूलाई निश्शुल्क भोजन व्यवस्थापन शुरू भएको छ।

                बिहीवार दुईवटा संस्थाले निश्शुल्क भोजन शुरू गरेका छन्। समर्पण सेवाको सहकार्यमा साहिब दरबार सेवा संस्थानले आजदेखि निश्शुल्क भोजन शुरू गरेको संस्थानका अध्यक्ष राजेशमान सिंहले बताए। आज नारायणी अस्पतालमा रहेका कुरूवाहरू र सडक फूटपाथमा भोका रहेका मानिसहरूलाई दुई सय प्याकेट भोजन गराइएको अध्यक्ष सिंहले बताए। समर्पण र साहिब दरबारले यस अघि लकडाउनमा पहिलोपटक ९० दिन र दोस्रोपटक ४५ दिन निश्शुल्क भोजन गराएका थिए।

                यसैगरी आजदेखि वीरगंज–४ जेलरोड क्षेत्रमा रहेको रेलवे कटेजले निश्शुल्क भोजन सञ्चालन गरेको ओमप्रकाश सर्राफले जानकारी गराएका छन्। फिड फर निडीद्वारा नेशनल मेडिकल कलेज र महानगरका विभिन्न चोकमा गरीब, विपन्नहरूलाई भोजन गराइएको संयोजक रवि गुप्ताले बताए। आज पहिलो दिन दुई सयजनालाई भोजन गराइएको उनले जानकारी गराए।

                निषेधाज्ञा शुरू भएको वैशाख १६ गतेदेखि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले रूँगटा वेलफेयर सोसाइटीको सहयोगमा जिल्ला प्रहरी कार्यालय, पर्सा अन्तर्गत खटेका सुरक्षाकर्मीहरूलाई पानी र चाउचाउको व्यवस्था गरेको छ। ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले अन्य सामाजिक कार्यको साथै प्रहरीलाई खाजाको व्यवस्थापन गर्दै आएको बताए।

                वीरगंज महानगरमा सद्भाव समितिले यस अघि नै साप्ताहिकरूपमा निश्शुल्क भोजन गराउँदै छ। अढाई वर्षदेखि शनिवार निश्शुल्क भोजन गराउँदै आएको समितिले निषेधाज्ञामा पनि सो कार्य यथावत् राखेको समितिका रमेश जाटियाले बताए। लकडाउनमा यो संस्थाले दैनिक निश्शुल्क भोजन गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here