प्रस, वीरगंज, २० वैशाख/
पर्सा जिल्लाका सङ्क्रमितहरूलाई आक्सिजनको समस्या नरहेको पाइएको छ। जिल्लामा रहेका तीनवटा आक्सिजन उद्योगबाट यस भेगका सङ्क्रमितलाई आक्सिजन सेवा उपलब्ध भइरहेको छ।
हिमाल आक्सिजन, मधु आक्सिजन र नेशनल आक्सिजन गरी तीनवटा आक्सिजन उद्योगबाट अहिले मेडिकल आक्सिजन वितरण भइरहेको र सङ्क्रमितहरूलाई आवश्यकता अनुसार उपलब्ध भइरहेको पाइएको छ। हिमाल आक्सिजन सामान्य अवस्थामा ठूलो सिलिन्डर दैनिक ३५ र सानो सिलिन्डर दैनिक ५५ वटा खपत हुँदै आएकामा अहिले ह्वात्तै बढेर ठूलो सिलिन्डर ५ गुना र सानो सिलिन्डर २ गुना खपत हुँदैछ।
हिमाल आक्सिजनले अहिले ठूलो सिलिन्डर दैनिक १५० वटा र सानो सिलिन्डर ९० वटा खपत हुँदै आइरहेको बताएको छ। सबैभन्दा बढी नारायणी वयोधा अस्पतालमा सिलिन्डर खपत हुने गरेको छ। त्यहाँ दैनिक ५० वटा सिलिन्डर खपत हुने गरेको छ। त्यसपछि नारायणी अस्पतालमा दैनिक ३५ वटा ठूलो सिलिन्डर खपत हुने गरेको छ।
पर्सा जिल्लामा मारवाडी सेवा ट्रस्टले ग्रीनसिटी सामुदायिक सेवा केन्द्रमार्फत र लायन्स क्लबले वीरगंज महानगरपालिकामार्फत निश्शुल्क आक्सिजन सेवा सञ्चालनमा ल्याएका छन्। ग्रीनसिटीले नेपाली नागरिकताको प्रतिलिपिको आधार आवश्यक भएकाहरूलाई २४ घण्टाको लागि सिलिन्डरसहितको आक्सिजन निश्शुल्क उपलब्ध गराउँदै आएको छ। ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले दैनिक १५ वटा आक्सिजन सिलिन्डरको माग भइरहेको बताए। उनले आक्सिजन आवश्यक नभएकाहरूबाट पनि माग भइरहेको स्वीकारे। अनावश्यक माग गर्नेहरूलाई परामर्श दिने गरेको उनले बताए। आक्सिजनको मात्रा ९० भन्दा माथि सामान्य मानिए पनि मानिसहरू आत्तिएर आक्सिजन माग गर्ने र उनीहरूलाई परामर्श दिएर चित्त बुझाउँदै आएको अध्यक्ष खेतानले बताए। आवश्यकता भएकाहरूलाई मात्र आक्सिजन लैजान आग्रह गरिएको र सोअनुरूप काम भइरहेको उनले दाबी गरे।
वीरगंज महानगरपालिकाले भने कोभिड सङ्क्रमितहरूलाई मात्र निश्शुल्क आक्सिजन व्यवस्था गरेको थियो। तीन दिनसम्म सङ्क्रमितलाई मात्र उपलब्ध गराउँदै आएको आक्सिजन विरोध भएपछि आइतवारदेखि आवश्यकता भएका सबैलाई निश्शुल्क दिंदै आएको छ। त्यहाँ पनि नागरिकताको प्रतिलिपि लिएर आवश्यक भएकाले २४ घण्टासम्म सिलिन्डरसहितको आक्सिजन पाइरहेका छन्।