प्रस, वीरगंज, १८ वैशाख/
वीरगंज हेल्थकेयर अस्पतालले कोरोना सङ्क्रमितका लागि २५ शय्या तयार गरेको छ। कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले निजी अस्पताललाई पनि कुल शय्याको २० प्रतिशत कोभिड सङ्क्रमितको लागि छुट्टयाउन आग्रह गरेअनुरूप वीरगंज हेल्थकेयरले शनिवारदेखि १० शय्याको भेन्टिलेटर सेवासहित २५ शय्या सङ्क्रमितका लागि तयार गरेको अस्पतालका सञ्चालक डा अबुलेस अन्सारीले बताए। यसअघिको कोरोनाकालमा वीरगंज हेल्थकेयर एक महीनाको लागि कोभिड अस्पताल बनाइएको थियो।
अहिले वीरगंजमा ९० शय्याको नारायणी अस्पताल, १७० शøयाको नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पताल, १५ शय्याको नारायणी वयोधा अस्पताल सञ्चालनमा छन्। यसैगरी, निजी अस्पताल गण्डक अस्पतालमा पनि केही शय्या सङ्क्रमितको लागि छुट्टयाएर उपचार भइरहेको छ। यो अस्पताललाई वीरगंज महानगरपालिकाले गत वर्ष सम्झौता गरेर पर्सा जिल्लामा पहिलो कोरोना अस्पतालको रूपमा तीन महीना सञ्चालन गरेको थियो।