प्रस, मकवानपुर, १७ वैशाख/
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमो सवार एकजना व्यक्तिसँग ३४ किलो गाँजा बरामद गरेको छ । पर्साको विन्ध्यवासिनी गाउँपालिका–२९ का रवीन्द्र उपाध्यायलाई गाँजासहित पक्राउ गरेको जिप्रका मकवानपुरले जनाएको छ ।
पालुङबाट भैंसेतर्फ आउँदै गरेको ना.१ज ४७३३ नम्बरको टाटासुमोमा गाँजा ल्याउँदै गरेका उपाध्यायलाई सूचनाको आधारमा प्रहरी चौकी भैंसेले भीमफेदी गापा–२ मा चेकजाँच गर्न खोज्दा टाटासुमो तीव्र गतिमा भागेको थियो । प्रहरीले पछ्याउँदै भीमफेदी– १ सुन्दरीमाई राप्तीखोलाको बगरमा सुमो भेटाएपछि ६ वटा पोकामा ३४ किलो लागूऔषध गाँजा फेला पारेको थियो । चालक रवीन्द्र उपाध्यायलाई पक्राउ गरी अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी, सप्तरी संवाददाता अनुसार राजगढ गाउँँपालिका–२ बाट बिहीवार लागूऔषधसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट आउँदै गरेका दुईजना सवार स.४प ३४९७ नंको मोटरसाइकल सशस्त्र प्रहरीको टोलीलाई देखेर भागेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार विष्णुपुर गाउँपालिका–७ कनकटा बस्ने २८ वर्षीय अभिमन्यू कुमार र राजविराज नगरपालिका–८ बस्ने ४३ वर्षीय गज्जु दासलाई पक्राउ गरी उनीहरूको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इनजेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको सशस्त्र प्रउ श्रेष्ठले बताए ।