प्रस, पोखरिया, ६ वैशाख/
कोरोना सङ्क्रमण फैलिए पनि पर्सा जिल्लाको ग्रामीण क्षेत्रका विद्यालयहरूमा पूर्ववत्रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएर अध्यापन भइरहेको छ।
सरकारले कोरोना सङ्क्रमण बढेसँगै देशका ठूला शहरका विद्यालयहरू बन्द गर्न निर्देशन जारी गरेको र वीरगंज महानगरपालिकाले आइतवार कक्षा ५ सम्मको अध्यापन बन्द गरेको भएपनि पर्साका ग्रामीण क्षेत्रहरूमा पालिकाहरूले अहिलेसम्म विद्यालय सञ्चालनमा ल्याएका छन्, त्यो पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने कुरामा लापरवाहीपूर्वक।
विन्ध्यवासिनी गाउँपालिकाले वीरगंज महानगरपालिकाको सिको गरेर कक्षा ५ सम्मको अध्यापन मङ्गलवारदेखि बन्द गर्ने निर्णय गरेको छ र सो कक्षामा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनबाट कक्षा वृद्धि गर्न निर्णय गरेको छ। कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको परीक्षा १२ गतेदेखि शुरू गरेर २० गतेसम्म सम्पन्न गर्न समय तोकिएको छ र सो परीक्षा दुई सिफ्टमा गर्न निर्देशन गरिएको छ। गापाका शिक्षक प्रमुख कपिल लामिछानेले सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन्।
सामुदायिक विद्यालयहरूको बाहुल्य रहेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा साबुन–पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने जस्ता कोरोनाविरुद्धको सामान्य स्वास्थ्य मापदण्ड पनि अपनाइएको छैन। विद्यालयमा पूर्ववत्रूपमा विद्यार्थीहरू कोचमकोच गरेर एउटा डेस्कमा ४–६ जनासम्म अध्ययन गरिरहेका छन्।
उदाहरणको लागि पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकास्थित पुरानो विद्यालय जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक आधारभूत विद्यालयको दुर्दशा हेर्न सकिन्छ। साबुन–पानीले हात धुनको लागि यसअघिकै कोरोनाकालमा पानीट्याङ्कीको व्यवस्था गरिएको थियो तर अहिले त्यसको प्रयोग छैन।
विद्यार्थीहरू घरबाट सोझै विद्यालयको कक्षाकोठामा प्रवेश गर्छन्। उनीहरूलाई त्यहाँ विसङ्क्रमित गरिंदैन। एउटा कक्षाकोठामा ७०–८० जना विद्यार्थी अध्ययन गर्छन्, उनीहरूमध्ये मुश्किलले पाँचजनाले मास्क लगाउँछन्। अध्यापन गराउने शिक्षकहरूले पनि मास्कको प्रयोग गर्दैनन्। सामाजिक दूरीको कुरै भएन। भीडभाडमा विद्यालयको सम्पूर्ण गतिविधि हुँदै आएको छ। विद्यालयका निमित्त प्रअ विनोद चौधरीले आफू भर्खरै निमित्त भएर आएको बताए। उनले अबका दिनमा अविलम्ब स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ कडाइ गर्ने आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here