प्रस, सेढवा, ६ वैशाख/
पर्साको थरुहट बाहुल्य क्षेत्रमा थारू समुदायका युवाहरूले प्रशंसनीय काम गर्दै आएका छन्। २५–३० जनाको समूहले सो जातिमा पर्ने सबैखाले समस्याहरू समाधान गर्नेतर्फ अग्रसरता देखाउँदै आएका छन्।
दुःख–सङ्कटमा परेकाहरूलाई सहयोग गरेर सङ्कट र दुःखबाट उन्मुक्ति दिलाउनेतर्फ उनीहरूको अग्रसरता देखिएको छ। आर्थिक, सामाजिक, शारीरिक सहयोग गरेर उनीहरूको समस्या समाधान गर्नेतर्फ युवाहरूको अग्रसरताको अहिले थारू समुदायमा प्रशंसा हुन थालेको छ।
जीराभवानी गाउँपालिका–२ का वडाध्यक्ष महादेवमहतो थारूले विवाह, व्रतवन्ध, मरण, काजक्रियाको काममा युवाहरूको सक्रिय सहभागिताले घरपरिवारका मानिसहरूलाई कुनै पनि समस्याको सामना गर्नु नपरेको बताए। उनले विवाह भएको घरमा आवश्यक सामानहरूको जोहो युवाहरूले गाउँटोलबाट गरिदिने, वैवाहिक कार्यक्रममा खट्ने, भोजभतेरको व्यवस्थापन गर्नेलगायतका कामहरू गर्न थालेका छन्।
आर्थिकरूपले समस्याग्रस्त परिवारलाई भोजभतेरदेखि लिएर दाइजोसम्मको व्यवस्थापनमा युवाहरूको सक्रियता बढ्दो छ। थारू समुदायमा मरण, विवाह हुँदा सबैले सहयोग गर्छन्। गच्छे अनुसारको सहयोग गरिंदै आएको हुँदा यो समुदायमा आइपर्ने समस्या सामाजिक उत्तरदायित्वबाट टर्ने गरेको छ। वैवाहिक कार्यक्रममा भोजभतेरमा आवश्यक खाद्यान्न, मासु, दाउरा, दुना–टपरीलगायतका सामग्रीहरू समाजकै मानिसहरूले पु–याउँछन्।
यसैगरी, दाइजोमा लाग्ने सुनको गहना, फर्निचर, टेलिभिजन, वाशिङ मेशिन, दराज, पङ्खा पनि स्वजातीय सहयोगबाट उपलब्ध हुने गरेको छ। यसरी गरिने सहयोग लिने व्यक्तिले अरूलाई पर्दा पनि यसैगरी सहयोग गर्ने गरेका छन्। जसले गर्दा यो समुदायमा विवाह, मरणमा आर्थिक समस्या हुने गरेको छैन।
पटेर्वासुगौली गापा–४ का प्रमोद चौधरीले सक्षम नभएका परिवारलाई पनि विवाह, मरणमा समस्या नहुने गरेको बताए। उनले स्वजातीय सहयोग र युवाहरूको सक्रियताबाट यस्ता समस्या गाउँटोलमा समाधान हुँदै आएकोले गाउँका मानिसहरू तनावमुक्त हुने गरेको बताए। आर्थिक सहयोग, खाद्यान्नका साथै गाउँटोलमा आउने जन्तीको व्यवस्थापनमा पनि युवाहरूले सक्रियता देखाउँछन् भने गाउँलेहरूले सहयोग गर्दै आएका छन्। यस्तो कार्यमा थारू समुदायका युवाहरू सक्रियतापूर्वक खट्दै आएकाले अहिले उनीहरूको गाउँमा मानसम्मान बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here