प्रमोद/नरेश यादव, २८ मङ्सिर/
प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्टको अभावमा पर्साका खोलानालाहरूको ठेक्का स्थानीय पालिकाले लगाउन सकेका छैनन् भने अवैध उत्खनन पनि रोकिएको छैन।
असोज १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन पालिकाहरूले ठेक्काबाट गर्नुपर्ने थियो तर अहिलेसम्म प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्ट तयार नभएको कारण दुईवटा खोलाबाहेक थप चारवटा खोलामा ठेक्का लाग्न सकेको छैन। ठेक्का नलागेका खोलाहरूको अवैध उत्खनन तीव्र गतिमा भइरहेको छ तर यसको रोकथाम गर्ने निकाय मौन छ। वीरगंज महानगरपालिका अन्तर्गतको भेडाहा खोला र पर्सागढी नगरपालिका अन्तर्गतको सिंघाही खोलाको मात्र ठेक्का भएको छ तर जिल्लामा रहेका पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोला, पटेर्वासुगौली र जीराभवानी गापा अन्तर्गत पर्ने भलुवाही खोला, पटेर्वासुगौली गापा अन्तर्गतको गादी खोला, जीराभवानी गापाको ओरिया खोलाबाट एकाबिहानैदेखि बेलुकीसम्म ट्याक्टरबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन भइरहेको छ।
भलुवाही खोलाबाट अवैध उत्खनन गरी तस्करहरूले पटेर्वासुगौली गापा–१ गदियानी, गापा–४ भतौडा, फरहदवा, सुगौली, वडा नं ५ देउरिया बाँध, मोडटोल, निचुटा, जीराभवानी गापा–५ को शङ्करसरैया हरैया, सखुवनिया र जमुनिया खोलाको गिट्टी, बालुवा सखुवाप्रसौनी गापा–१ अकवनिया, सिद्धपुर, सथवल, सिद्धपुर, औराहा, सखुवनिया, पटेर्वासुगौली गापाको गादी, बङ्कुल, रामभौरी, धर्मबस्ती, रङ्गपुर, बेलवा, देकुली भएर तस्करी जारी छ। यो क्षेत्रमा पर्ने प्रहरी चौकी रङ्गपुर, शङ्करसरैया, इप्रका पटेर्वासुगौलीले बेवास्ता गरेको कारण नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको स्थानीयले बताए। प्रहरीको मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन भइरहेको उनीहरूको आरोप छ। पर्साका सबै खोलामा अहिले अवैध उत्खनन भइरहेको र सोको रोकथाममा स्थानीय पालिका, प्रहरी, वन कर्मचारीहरू निष्क्रिय देखिएका छन्।
यसैबीच, पटेर्वासुगौली गापा अन्तर्गतको भलुवाही खोलामा यस वर्षदेखि चार बिघा जमीन नम्बरी बताउँदै त्रिवेणी चौधरीले प्रमाद दहित थारूमार्फत उत्खनन गराइरहेका छन्। उनीहरूले टिपर, ट्याक्टर, एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको गिट्टी, बालुवा ढुवानी गर्दैछन्। स्थानीय पालिकाले उनीहरूसँग निजी जग्गा भएको भन्दै सोबापतको राजस्व सङ्कलन गरिरहेको छ। यसअघि भलुवाही खोलामा स्थानीय पालिकाको मात्रै हकअधिकार थियो। यस वर्ष चार बिघा जमीन नापजोख गरी व्यक्तिगत भोगमा रहेको भन्दै उत्खनन भइरहेको हो। सखुवाप्रसौनी गापा कार्यालयका वीरेन्द्र चौधरीले खोलामा चार बिघा नापजोख गर्दा निजी जमीन परेको र सोबाट उत्खनन भइरहेको र राजस्व सङ्कलन गरिएको बताएका छन्।
पटेर्वासुगौलीजस्तै यस वर्ष सखुवाप्रसौनी गापाको जमुनिया खोलामा पनि ५ बिघा जमीन निजी भोग प्रमाणित गर्दै अशोक साह र लक्ष्मण सहनीले नदीजन्य पदार्थको उत्खनन गरिरहेका छन्। उनीहरूले टिपर, ट्याक्टर, एक्साभेटरको प्रयोग गरेर गिट्टी, बालुवा, ढुङ्गा प्रयोग गर्ने र सोबापतको राजस्व दिने गरेका छन्।
पर्साको वैध र अवैध उत्खननबारे जिल्ला समन्वय समिति, पर्साका सभापति नेक महम्मद अन्सारीले अनुगमन भइरहेको र गलत देखिएका ठाउँमा कारबाई गर्ने बताए। उनले दुईवटा पालिकाले ठेक्का लगाएको र त्यहाँबाट पनि मापदण्डविपरीत उत्खनन भइरहेको पाइएमा ठेक्का रद्द गरिने चेतावनी दिएका छन्। सभापति अन्सारीले अवैध उत्खनन सम्बन्धमा पनि अनुगमन भइरहेको बताए। चारवटा खोलामा ठेक्का नलाग्नुको कारण दुईवटा पालिकाको दाबी हुनु उनले बताए। एउटा खोलामा दुईवटा पालिकाबीचको विवादले समयमा वातावरणीय परीक्षण रिपोर्ट तयार हुन नसकेको सभापति अन्सारीले प्रस्ट्याए।