प्रस, पंचगावाँ, २८ मङ्सिर/
    गहुँबाली लगाएका किसानहरूले मलको अभाव झेलिरहेका छन्। गहुँको बीउ छर्ने बेलादेखि अहिले सिंचाइ गरेपछि आवश्यक मल पनि उपलब्ध छैन।
    सखुवाप्रसौनी गाउँपालिकामा २५ भन्दा बढी सहकारी छन्। सबैभन्दा बढी महुवनमा १२ वटा छन्। एकै परिवारका तीनजनाले पनि तीनवटा सहकारी चलाइरहेका छन्। वीरगंजस्थित साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनीबाट सहकारीहरूले आआफ्नो कोटाको मल लिंदै आएका छन् तर त्यो मल किसानहरूसम्म कम पुग्ने गरेको छ। किसानको नाममा अनधिकृत बिक्री बढेको छ। किसानलाई लक्षित गरेर खोलिएका सहकारीबाट किसान लाभान्वित नभएपछि गापाले उपाध्यक्ष फूलमती चौधरीको संयोजकत्वमा तीन सदस्यीय मल वितरण व्यवस्थापन समिति बनाएको छ। तर त्यो समितिलाई पनि बाइपास गरेर सहकारीहरूले आफूखुशी मल बिक्री वितरण गर्दै आएका छन्।
    सखुवाप्रसौनी गापा–३ प्रसौनीटोलका शम्भु यादव, अर्का किसान विनोद यादवले आफ्नो ठाउँमा अनुदानको मल उपलब्ध नभएको गुनासो गरे। पालिकाले सबै सहकारीलाई वडास्तरीयरूपमा मल वितरणको लागि निर्देशन गरेको छ। तर तोकिएका वडामा तोकिएका सहकारीले मल बिक्री नगरी अन्यत्र बिक्री गर्दै आएको स्थानीयको आरोप छ।
    गापा उपाध्यक्ष चौधरीले अनियमितता भइरहेको गुनासो आइरहेको स्वीकारिन्। उनले पालिकाले मल व्यवस्थापनको लागि पहल गरिरहेको बताइन्।
    गापामा अनधिकृतरूपमा सहकारी सञ्चालन भइरहेको र कतिपय सहकारी नवीकरणसमेत नभएको गुनासो आएकाले सो सम्बन्धमा सबै सहकारीको वैधानिकता खोजी गर्ने कार्य भइरहेको उनले बताइन्। उनले तोकिएको ठाउँका किसानलाई मल उपलब्ध नगराउने सहकारीलाई कारबाई गर्ने बताइन्।  
    सहकारीहरूले अहिले साताको ४० बोरा युरिया, ५० बोरा डिएपी मल उठाइरहेका छन्। तर त्यो मल लक्षित वर्गसम्म पुग्नुभन्दा अन्यत्र पु–याउने र बढी लाभ लिने कार्य भइरहेको छ। किसानहरूले मल सहकारीबाट नपाएपछि भारतबाट ल्याएर गहुँखेती गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here