प्रस, पंचगावाँ, १ कात्तिक/
पर्साका खोलाहरूको प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्ट जारी नभएको कारण पालिकाहरूले आआप्mनो क्षेत्रका खोलाहरूको ठेक्का लगाउन नसके पनि खोलाहरूमा नदीजन्य पदार्थको दोहन जारी छ ।

असारदेखि बन्द गरिएका खोलाहरूको उत्खनन असोज १ गतेबाट प्रक्रिया पूरा गरी पालिकाहरूले ठेक्का लगाउनुपर्ने थियो । तर जिल्ला समन्वय समितिले वातावरणीय परीक्षण रिपोर्ट तयार नगर्दा पालिकाहरूले खोलाहरूको ठेक्का लगाउन सकेका छैनन् भने ठेक्का नलागेका खोलाहरूमा भइरहेको अवैध उत्खननलाई पनि रोक्न सकेका छैनन् ।

पर्साको पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोला, पटेर्वासुगौली र जीराभवानी गापा अन्तर्गत पर्ने भलुवाही खोला, पटेर्वासुगौली गापा अन्तर्गतको गादी खोला, जीराभवानी गापाको ओरिया खोला, पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया, सिंघाही खोलाहरूबाट एकाबिहानैदेखि बेलुकीसम्म ट्याक्टरबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन भइरहेको छ । स्थानीय पालिका, सम्बन्धित सुरक्षाकर्मी, वन कर्मचारीहरू अहिले अवैध उत्खननका साक्षी मात्र भएका छन् । अवैध उत्खनन रोक्ने यी निकायमा फोन गर्दा कसैले सुनवाइ नगरेको महादेवपट्टिका रामस्वरूप साह बताउँछन् । अवैध उत्खननमा चासो नदेखाउनुको कारण कारोबारीसँग साँठगाँठ भएको स्थानीयहरूको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here