बजारशास्त्रमा बहुउपयोगीकरणको महत्व

0
  • विश्वराज अधिकारी

बजारशास्त्रमा वस्तु वा सेवाको वहुउपयोगीकरण (Product augmentation) वा बहुउपयोगिताको अति महत्व छ। आफ्नो वस्तु वा सेवालाई बहुउपयोगी बनाएर वा आफ्नो वस्तु वा सेवामा बहु विशेषता समाविष्ट गरेर अथवा आफ्नो वस्तु वा सेवालाई अन्य उत्पादकभन्दा फरक बनाएर उत्पादकहरूले अधिक मुनाफा गर्न सकेका वा  बजारमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन सकेका देखिएको छ। जसले गर्दा त्यस्ता उत्पादक बजारमा चिरकालसम्म रहन सकेका देखिएको छ।

आधुनिक बजारशास्त्रमा वस्तु वा सेवा बहुउपयोगीकरण एउटा बजार रणनीति हो। यो रणनीतिले व्यवसायीहरूलाई व्यवसायमा सफल हुन निकै सहयोग गरेको पाइएको छ। छोटकरीमा भन्ने हो भने यो बजार रणनीति प्रयोग गरेर व्यवसायी एवं उत्पादकहरू प्रतिस्पर्धीहरूको भीडमा उनीहरूलाई पछाडि छाडेर अगाडि–अगाडि रहन सफल भएको देखिएको छ। अमेरिकी बजारमा एमेजन, एपल, वालमार्टजस्ता कम्पनीहरूले बहुउपयोगिता बजार रणनीति निकै उपयोग गरेको पाइन्छ। यी कम्पनीहरू बहुउपयोगीकरण गर्ने कम्पनीहरूको पङ्Íिमा अग्रस्थानमा रहेको पाइन्छ।

वस्तु वा सेवालाई कसरी बहुउपयोगी बनाउन सकिन्छ ?

वस्तु वा सेवालाई कसरी बहुउपयोगी बनाउन सकिन्छ आउनुहोस् त्यसबारे चर्चा गरौं। कुनै एक रेस्टुराको कार्य आफ्नो स्थलमा आएका ग्राहकलाई केवल उनीहरूको माग अनुसार अनेक किसिमको खाना उपलब्ध गराउनु हो। सामान्य अर्थमा, विभिन्न किसिमका खाना आपूर्ति गरेर ग्राहकहरूलाई सन्तुष्टि दिनु हो। तर बहुउपयोगीकरण गर्ने रेस्टुराले केवल अनेक किसिमका खाना मात्र उपलब्ध गराउँदैनन् आफ्नो रेस्टुराबाट अन्य विभिन्न किसिमका वस्त एवं सेवाहरू पनि उपलब्ध गराउँछ। उदाहरणका लागि त्यो रेस्टुराले कुनै ग्राहकको (ग्राहक रेस्टुरामा आएको दिन) जन्मदिन परेको छ भने उक्त ग्राहकलाई आफ्नो रेस्टुराको नाम लेखिएको टिसर्ट निश्शुल्क दिन्छ जुन टिसर्टमा ‘तपाइ‘लाई जन्मदिनको हार्दिक शुभकामना’ लेखिएको हुन्छ। यसैगरी त्यो रेस्टुरामा कुनै ग्राहक आफ्ना परिवारका सदस्य एवं साथीहरू सहित जन्मदिन मनाउन आएको छ भने जन्मदिन हुने उक्त ग्राहकको लागि ‘हैपी बर्थ डे’ लेखिएको केक तयार पारेर सो ग्राहकलाई निश्शुल्क केक दिन सक्छ। यसैगरी त्यो ग्राहकले केक काटिरहेको समयमा आफ्ना कमर्चारीहरूलाई ‘ह्यापी बर्थडे गीत’ निश्शुल्क गाउन र सङ्गीत बजाउन भन्न सक्छ।

अर्को किसिमले बहुउपयोगिता सृजना गर्ने क्रममा त्यो रेस्टुराले आफ्नो घरबाट खाने कुरा माग गर्ने ग्राहकको घरमा नै खाने कुरा पु–याइदिन सक्छ। यदि रेस्टुरा भित्र नपसेर बाहिरबाट खाना लिन कुनै ग्राहक आएको छ भने उक्त ग्राहकलाई भवन बाहिरबाट पनि खान दिन सक्छ।

यसैगरी त्यो रेस्टुरामा आउने अभिभावकहरूका नानीहरूलाई खेल्न विभिन्न किसिमका खेलौना निश्शुल्क दिन सक्छ। त्यो रेस्टुरा भित्र नै एउटा कोठालाई नानीहरू खेल्ने कोठाको रूपमा राख्न सक्छ। त्यो रेस्टुराले कुनै खास किसिमको बिरामी भएको (जस्तै मधुमेह) ग्राहकलाई उसको स्वास्थ्य आवश्यकता अनुसारको खाना उपलब्ध गराउन सक्छ।

अर्थात बहुउपयोगीकरण रणनीति अन्तर्गत उत्पादक एवं बिक्रेताले आफ्नो वस्तुमा रहेको मूल आवश्यकता पूर्ति हुने गुणसहित अनेक अन्य विभिन्न गुणहरू समाविष्ट गरेर ग्राहकलाई वस्तु एवं सेवा उपलब्ध गराउने कार्य गर्दछ। ग्राहकलाई केन्द्रमा राख्दछ।

बहुउपयोगीकरण किन आवश्यक छ ?

बहुउपयोगीकरणले गर्दा वस्तु एवं सेवाको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन्छ भने उपभोक्ताहरूले एउटै वस्तु वा सेवाबाट अनेक थप सुविधा र सेवाहरू पाउँछन्। अहिलेको अति वैश्य युगमा उपभोक्ताहरूले पनि एउटै वस्तु वा सेवामा अनेक गुण हुनुपर्ने अपेक्षा होइन, माग नै गर्छन्। र आफूले उपयोग गरिरहेको वस्तु वा सेवामा बहुउपयोगिता छैन भने सजिलै अर्को उत्पादकको वस्तु वा सेवातिर लाग्छन्। अहिले यो अति प्रतिस्पर्धात्मक युगमा आफ्नो वस्तु वा सेवामा एउटा मात्र विशेषता (मूल विशेषता) समाविष्ट गरेर हुँदैन। त्यस्तो गर्ने बिक्रेता पछाडि पर्छ वा बजारबाट बाहिर पुग्छ।

दक्षिण एशियाका बजारहरूमा बहुउपयोगिताको स्थिति कस्तो छ ?

दक्षिण एशियाका बजारहरू अहिले पनि परम्परागत बजार अवधारणा एवं अभ्यास अन्तर्गत चलेको पाइन्छ। दक्षिण एशियाका बजारहरूले उपभोक्ता एवं ग्राहकहरूलाई केन्द्रमा राखेर उनीहरूकै वरिपरि आफ्ना क्रियाकलाप सञ्चालन गरेको पाइँदैन। अर्थात् उपभोक्ताहरूले कस्तो वस्तु वा सेवाको माग गरिरहेका छन् त्यसबारे जानकारी, बजार अनुसन्धान गरेर त्यसै अनुरूप वस्तु वा सेवाको विकास गर्नुको साटो उत्पादकहरूलाई के उत्पादन गर्न मन लागेको छ सोही अनुसार वस्तु वा सेवा उत्पादन गरेको पाइन्छ।

दक्षिण एशियाका उत्पादक एवं बिक्रेताहरूले बहुउपयोगिता नीतिलाई बजार रणनीतिको रूपमा कमै प्रयोग गरेको पाइन्छ। भारतीय बजारहरूमा भने केही व्यापारीहरूले बहुउपयोगीता नीति प्रोयोगमा ल्याएको पाइन्छ। भारतीय व्यापारीहरूको अमेरिका र युरोपका बजारहरूसँग राम्रो सम्बन्ध भएको र त्यस सम्बन्धले बहुउपयोगिता नीतिबारे जान्न उनीहरूलाई सजिलो पारिदिएको हुन सक्छ।

नेपालका बजारहरूमा बहुउपयोगिताको स्थिति कस्तो छ ?

नेपालमा बहुउपयोगिता नीतिलाई बजार रणनीतिको रूपमा प्रयोग गरिएको लगभग शून्य बराबर छ। नेपालमा व्यापारीहरू दीर्घकालसम्म बजारमा उपस्थित नरहने र लघुकालमा नै धेरै मुनाफा गरेर शीघ्र करोडपति बन्ने मनोविज्ञानबाट ग्रसित भएकाले बहुउपयोगिताले महत्व थाहा नपाएको हुन सक्छ। नेपाली बजारको एक प्रमुख विशेषता पनि छ। नेपाली बजारमा उत्पादक एवं बिक्रेताहरूले मुनाफालाई केन्द्रमा राख्छन् र मुनाफाको वरिपरि नै आफ्ना क्रियाकलाप सञ्चालित गर्छन्। ग्राहकहरूको हितलाई बेवास्ता गर्छन्। बजारमा उत्पादक एवं बिक्रेताहरूबीच आआफ्नो वस्तु एवं सेवा बिक्री गर्न तीव्र प्रतिस्पर्धा नभएकोले पनि उत्पादक एवं बिक्रेताहरू ग्राहक–केन्द्रित हुन नसकेका हुन्।

आधुनिक बजारशास्त्रको सिद्धान्त अनुसार उत्पादक एवं बिक्रेताहरूले ग्राहक एवं उपभोक्ताहरूको हित एवं सन्तुष्टिलाई केन्द्रमा र पहिलो प्राथमिकतामा राख्नुपर्छ। मुनाफालाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ। ग्राहकहरू भए मात्र व्यापार चल्ने र ग्राहकको भूमिका गाडीलाई चलाउन पेट्रोलको मुख्य भूमिका भएझैं भएकोले ग्राहकलाई केन्द्रमा राक्नुपर्छ। ग्राहक एवं उपभोक्ताहरूलाई अत्यधिक सन्तुष्टि दिएर क्रमिकरूपमा र दीर्घकालमा अपेक्षित मुनाफा आर्जन गर्ने लक्ष्य उत्पादक एवं बिक्रेताहरूको हुनुपर्दछ। लघुकालमा नै करोडपति हुने लक्ष्य हुनुहुँदैन।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here